विराटनगर । विराटनगरको दीर्घकालीन पुनःस्थापना गृहबाट तीन जना फरार भएका छन् । विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको पुनःस्थापना गृहबाट दुई बालिका र एक युवती भागेका हुन् ।
गृहमा राखिएकामध्ये मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ वर्षीया र इलामको इलाम नगरपालिकाकी १५ वर्षीया बालिका तथा धनकुटाको धनकुटा नगरपालिका घर भएकी १९ वर्षीया युवती बुधबार बिहान फरार भएको प्रहरीले जनाएको छ ।
घरेलु र लैंगिक हिंसाबाट पीडित भइ भय तथा असुरक्षा महसुस गरिरहेका, आफ्नो घर एवं समाजमा रहेर नियमित जीवनयापन गर्न नसकिरहेका र बेचबिखनदेखि बलात्कार पीडितलगायत अनेक हिसाबले जोखिममा परेका महिला एवं बालिकालाई उद्धार गरेर पुनःस्थापना गृहमा राखिँदै आएको थियो । दीर्घकालीन पुनःस्थापना गृह कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्दै आएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार फरार भएकाको खोजी भइरहेको छ । सुधार गृहबाट आफूखुसी हिँडेकाहरु परिवारको सम्पर्कमा पनि नपुगेको प्रहरीले जनाएको छ ।
भागेकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको छ । विभिन्न प्रहरी युनिटसँग समन्वय गरेर उनीहरुको खोजी तीव्र पारिएको डीएसपी जोशीले जानकारी दिए ।
गृहमा राखेर उनीहरुलाई पूर्णरूपमा सुरक्षित महसुस गराइ आवश्यक पर्ने मनोसामाजिक परामर्श, कानुनी सहायता तथा जीविकोपार्जन सीपका माध्यमबाट समाजमा पुनः भयरहित ढंगले पुनःस्थापना गर्ने गरिन्छ ।
पुनःस्थापना गृहकी प्रमुख सुनीता भट्टराईका अनुसार भागेका तीनै जना बलात्कारबाट पीडित भएकाहरु हुन् । पुनःस्थापना गृहमा अहिले २५ जनालाई राखिएको छ । अधिकांश बालिकाहरु छन् ।
पुनःस्थापना गृहमा राखिएकाहरुका ८ सन्तानलाई पनि त्यहि राखिएको थियो । गृहमा ३ जना महिला सुरक्षा गार्डको व्यवस्था छ । सुरक्षा गार्डलाई छलेर भागेकाहरुको प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको भट्टराईले जानकारी दिएकी छन् ।