विराटनगरमा सयपत्री फुलको अभाब

विराटनगर । असोको दोस्रो साताको भिषण वर्षाको कारण यो वर्षको तिहारमा विराटनगर र आसपासको क्षेत्रमा सयपत्री फूलको अभाव देखिएको छ ।

विराटनगरमा आफैं फूलको व्यवसायीक खेति नभएको र बाहिरबाट आउनेमध्ये पनि नेपाली उत्पादन कम रहेको व्यवसायीहरुले बताएका छन् । असोजको पानीका कारण थुङ्गा बिग्रिएको कारण बजारमा राम्रो फुल नै नपाइएको उपभोक्ताहरुले बताएका छन् । काग तिहारको दिन बुधबार रंग उडेका सयपत्रीको गुच्छा बजारमा देखिएका थिए १५ वटा थुँगा भएका गुच्छाको मूल्य पनि ८० देखि १०० रुपैयाँमा छ ।
बेलबारी–५ बाट ७२ वर्षीय विष्णु तामाङले तिहारलाई लक्षित गरेर ओखर र सयपत्री फूल बेचिरहेको बताइन् । कतै पनि फूलको माला नभएको कारण आफूले तेह्रथुमको सयपत्री गुच्चा बेचिरहेको उनको भनाइ छ ।

अर्का व्यापारी रोमन पण्डितका अनुसार बजारमा कतैपनि राम्रो फुल छैन । आफूले किनेको पसलमा पनि २०० थान मात्रै सयपत्री माला पाएको उनको भनाइ छ । सय रुपैयाँ प्रतिगोटा माला बेचिरहेका उनले गत वर्षको जस्तो गुणस्तर नभएको बताएका छन् ।

आन्तरिक उत्पादन कम भएको कारण भारतबाट फुल आयात हुने गरेको छ । तर, भारतबाट आउने फूलसमेत यसपटक बैधानिक बाटोबाट नआएको व्यवसायीले बताएका छन् । अवैध बाटोबाट आएको फुल राम्रो गुणस्तरको नभएको उनीहरुको भनाइ छ ।

सयपत्री फूलको अभाव भएपछि प्लाष्टिकका फूलको व्यापार भने बढेको व्यवसायीले बताएका छन् । विगतका वर्षमा सयपत्री फूलले सजिने बजार यसपटक प्लाष्टिकका फूलले रङ्गीचङ्गी बनेको देखिन्छ । प्लाष्टिकका फूल प्रतिबन्धित भएपनि बजारमा छ्याप्छ्याप्ती बिक्री भइरहेको छ ।
विशेषगरी घर, पसल र मन्दिर समेत प्लास्टिकका फूलले सजिएका छन् । अहिले दैनिक १० देखि १५ जनाले प्लाष्टिकका फूल किनिरहेको विराट इलेक्ट्रोनिक एण्ड एप्लिक्यान्सका सञ्चालक सुमित रायले बताए । ८० देखि २५० रुपैयाँसम्मका प्लास्टिकका फूल पाइन्छ ।

बिहिबार, १५ कार्तिक, २०८१, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर