वडाको भवन उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ ।

वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई आइतबार भवन उद्घाटन कार्यक्रममा सम्मान गरेको हो । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गरे । कामत विगत २८ वर्षदेखि सोही वडामा कार्यरत थिए ।

सोही अवसरमा मेयर कोइरालाले ३० लाख रुपैयाँको लागतमा निर्मित वडा कार्यालय भवनको दोस्रो तला उद्घाटन गरे । वडा कार्यालयले चियापानसहित तिहार, छठ र नेपाल सम्वतका अवसरमा शुभकामना आदानप्रदानसमेत राखेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासमा महानगरपालिका लागिपरेको बताए ।

उपमेयर कार्कीले महानगरमा सबैभन्दा कम गुनासो वडा नम्बर १० बाट आउने गरेको बताइन् । तुलानात्मक रुपमा विराटनगरको वडा नम्बर १० विकसित, सफा र व्यवस्थित रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वडासचिव चन्दानन्द यादव, वडा सदस्य देबु मण्डल, जसपा महानगर सचिव रामचन्द्र यादव, ब्रम्हाकुमारी राजयोगका तुलसीकुमार, मैथिली समाजका फूलकुमार देव, गणेश पुस्तकालयका ईश्वरीप्रसाद नेपाल, मानव सेवा आश्रमकी पार्वती तिवारी, विराट सेवा आश्रमका रामकृष्ण तिम्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए ।

सोमबार, १२ कार्तिक, २०८१, बिहानको ११:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर