महशुल विवाद छिटो समाधान गर्न उद्योग संगठनको अपिल

विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक वातावरण बिग्रदै गएकोमा चिन्ता व्यक्त गरेको छ । सरकारका निकायहरुबीचमै आपसी समन्वय नहुँदा औद्योगिक एवम् लगानीको वातावरण बिग्रिएको संगठनले जनाएको हो ।

संगठनले शनिबार एक सार्वजनिक अपिल जारी गर्दै बिग्रदो औद्योगिक वातावरण सुधार गर्न समन्वयात्मक ढंगले काम गर्नुपर्ने र सबैले परिणाममुखी व्यवहार गर्नुपर्ने जनाएको हो ।

लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले शुक्रबार उद्योगहरुको लाइन काटिदिएपछि सरकार र सरकारी निकायबीच समन्वयको अभाव देखिएको प्रतिक्रिया संगठनले व्यक्त गरेको हो । उद्योग संगठन मोरङले सरकार विवाद सभाधान गर्ने भन्दा पनि आफ्नो अनुकुलतामा कहिले लाइन काट्ने कहिले जोड्ने सृङ्खला चलाइरहेको र यसले औद्योगिक वातावरण सृदृढ हुन नसक्ने दाबी गरेको छ ।

राज्यको मुख्य सरोकारवालाहरु नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ट्रंक तथा डेडिकेटेड लाइनको विषयमा एउटै धारण आउनु पर्ने संगठनले भनेको छ । उद्योग र विद्युत महशुलजस्तो संवेदनशील विषयका सम्बन्धमा फरक फरक ब्याख्या र धारणा आउँदा विवाद निरुपण हुनुको साटो वातावरण बिग्रिने भन्दै यथाशक्य चाँडो विवाद समाधान गर्न आग्रह गरेको छ । समस्या समाधानमा सरकार र सरकारी निकायहरुले गरिरहेको ढिलाइ र आलटाल (लिङ्गरिङ)को अवस्था लामो समय राख्न नहुने संगठनको धारणा छ ।

गलत गर्नेले उन्मुक्ति पाउन नहुँदै भन्दै उद्योग संगठनले आपसी समन्वयबाट समस्याको यथाशीघ्र समाधान गरी समग्र निजी क्षेत्रप्रति बढ्दै गएको नकारात्मक भाष्य बन्नबाट रोक्न आग्रह गरेको छ ।

आइतबार, ११ कार्तिक, २०८१, दिउँसोको १२:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर