लागुऔषध प्रयोगकर्ता बाबुको कर्तुत : छोरीलाई खान पनि नदिई बन्धक

विराटनगर । लागूऔषधको लतमा फसेका विराटनगर ९ भानु टोलका ३२ वर्षीय सुनिल सहनीले तीन दिनदेखि आफ्नै घरको कोठामा थुनेर राखेको चार वर्षीय छोरीलाई सकुशल उद्धार गरिएको छ ।

बुधबारदेखि कोठाभित्र ढोका थुनेर बन्धक बनाइएको बालिकालाई प्रहरी र स्थानीय जनप्रतिनिधिहरुले शुक्रबार राति सकुशल उद्धार गरेका हुन् । लागूऔषध सेवन गरेर लठ्ठ भएपछि कान्छी छोरीलाई बुधबार दिउँसोदेखि घरभित्र कोठा थुनेर सहनी बसेका थिए । उनले हातमा चक्कु बोकेर भित्र कोही आए छोरीलाई मार्ने र आफू पनि मर्ने भन्दै कसैलाई प्रवेश नदिएपछि परिवारले पनि हल्ला गरेका थिएनन् ।

घटनाबारे स्थानीयले जानकारी पाएपछि प्रहरीमा खबर भएको थियो । आफू पनि केहि नखाई छोरीलाई सहनीले बन्धक बनाएको अवस्थामा उद्धार गरिएको विराटनगर ९ का वडाअध्यक्ष विश्वनाथ भगतले बताए । ‘प्रहरीले शुक्रबार दिउँसैदेखि पटकपटक उद्धारको प्रयास गरेको थियो । तर, छोरीलाई लिएर घरको कोठाभित्र बसेका सुनीलले कसैलाई पनि प्रवेश गर्न नदिँदा उद्धारमा समस्या भएको थियो’ उनले भने, ‘राति भएपछि मोरङ प्रहरी, विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र स्थानीय जनप्रतिनधि गएर उद्धार गरिएको हो ।’

बालिकालाई केही हुन नदिनको लागि कोठा बाहिर वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठको कमाण्डमा दिनभरी प्रहरी टोली खटिएको थियो । घरको कोठाभित्र हातमा चक्कु बोकेर छोरीलाई नियन्त्रणमा लिएका सहनीले कोही आएमा छोरीलाई मारिदिने र आफू पनि चक्कुले घाँटी रेटेर मर्ने बताएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय र जनप्रतिनिधिसहितको सहयोगमा लामो प्रयासपछि बालिकाको सकुशल उद्धार गरिएको हो ।

सहनीले कोठाको ढोका खोल्न नमानेपछि प्रहरीले फोड्ने तयारी गरेको थियो । तर, कुनै अप्रिय घटना हुनसक्ने देखेर सावधानी अपनाउँदै फकाएर नाबालिकालाई बाबुको कब्जाबाट बाहिर निकाल्न सफल भएको डिएसपी जोशीले बताए । उनका अनुसार नाबालिकालाई हजुरआमाको जिम्मा लगाएर पठाइएको छ ।

प्रहरीका अनुसार लामो समयसम्म फकाएपछि नाबालिका छोरीलाई सुसनलले ढोकामाथिको खाली ठाउँबाट बाहिर दिएका थिए । बाहिर ननिस्किने अडान राखेका उनी भने घरको कोठाभित्रै केही समय बसे । पछि उनी पनि बाहिर आएको प्रहरीले जनाएको छ । नाबालिका छोरीलाई घरभित्रै थुनेर राख्नुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहनीकी श्रीमती भने १५ दिन अगाडि वैदेशिक रोजगारीमा गएको खुलेको छ । सुनिल लागूऔषध प्रयोगकर्ता रहेको स्थानीयले बताएका छन् । घरमा नाबालिका छोरीलाई लिएर सुनिल बस्थे ।

आइतबार, ११ कार्तिक, २०८१, दिउँसोको १२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर