‘कुलमान घिसिङलाई यो सरकारले कारबाही गर्न खोजिरहेको छ’

 डा. शेखर कोइराला

गत असार १७ गते नेपाली काग्रेस र नेकपा एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिन पार गरेको छ । सरकारले गरेका राम्रा र नराम्रा कामको विषयमा विभिन्न कोणबाट समीक्षा भइनै रहेको छ । विपक्षीहरुले सरकार असफल भएको बताइरहँदा सत्तापक्षकै केही नेताहरुले वर्तमान सरकार लक्ष्य अनुसार अगाडि बढ्न नसकेको बताएका छन् । जसमध्ये एक जना हुन् कांग्रेस नेता डाक्टर शेखर कोइराला । डाक्टर कोइरालाले बिहीबार बिहान विराटनगरस्थित कोइराला निवासमै पत्रकार भेटघाट कार्यक्रम राखेका थिए । उक्त कार्यक्रमममा कोइरालाले वर्तमान सरकारको काम कारबाही, कांग्रेसको महाधिवेशन, प्रदेश सरकारसँग सम्बन्धित विषय तथा मध्यपूर्वमा देखिएको तनावको विषयमा कुराकानी गरेका थिए । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः

मंसिरमा सरकार परिवर्तन हुन्छ । भारत, चीन, अमेरिका कसैले पनि यो सरकारलाई मन नपराएको कुरा छ ? खास कुरा के हो ?

– भारत, चीन र अमेरिकाले अहिलेको सरकार मन नपराएको विषय तपाइँलाई कसरी थाहा भयो ?

कुटनीतिक क्षेत्रका मानिसहरुले त्यसै भनिरहेका छन् नि ?

– भारतले भ्रमणको निम्ता दिएको छैन । त्यसकारण तपाइहरुलाई भारत रिसाएको जस्तो लागेको होला । दुई देशको सम्बन्ध भनेको त्यो मात्रै होइन । भारत, चीन, अमेरिका वा अन्य देशहरुले रुचाउने, नरुचाउने भन्ने विषय पनि होइन । यो संसदीय व्यवस्थामा संसदले हामीहरुको संख्या कति पुग्छ त्यसमा भर पर्ने कुरा हो । नेपाली कांग्रेस र एमालेको संख्या भनेको झण्डै झण्डै दुई तिहाईको बहुमतको संख्या हो । जबसम्म नेपाली कांग्रेसले हात झिक्दैन तबसम्म यो सरकार चलिरहन्छ । नेपाली कांग्रेसले हात झिक्नु पर्ने अवस्था पनि म देख्दिन । अझै यो सरकार राम्ररी चल्छ ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले देशहरुसँगको सम्बन्धको कुरालाई लिएर ‘कन्फर्टेबल’ सरकारको कुरा गर्नुहुन्थ्यो ? अहिलेको सरकार चाहिँ कन्फर्टेबल छ कि छैन त ?

– कन्फर्टेबल सरकार भनेको के ? भाषा मिलाएर मात्रै हुँदैन । बनाउनु पर्ने कन्फर्टेबल नै हो । उहाँहरु (भारत, चीन) को चासोलाई हामीहरुले व्यवस्थापन गरिदिन सक्नुपर्छ । उनीहरुको सुरक्षा चासो हुन्छ । अरू चासो हुन्छ । त्यो कन्सर्नलाई हामीले मिट गर्दिन सक्नुपर्छ । त्यो गरियो भने त भइगयो नि ।

अर्को प्रसंगमा जाऔं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको विषयलाई के भन्नुहुन्छ ?

– यो सरकार किन बनेको हो पहिले त्यसमा जानुपर्छ । यो सरकार बनाउँदाखेरि अस्थिरता भइराखेको छ । हरेक दुई, तीन महिनामा सरकार परिवर्तन भइरहेको छ । एक डेढ वर्षमा पहिले एमालेसित मिलेर सरकार बन्यो, त्यसपछि कांग्रेससँग, फेरि एमालेसँग मिलेर सरकार बन्यो । त्यसपछि त कांग्रेस र एमाले मिलेर बनेको हो नि सरकार । अस्थिरताको जगमा पुराना सरकार बनेको भएर अप्ठ्यारो भएको थियो । आम नेपाली जनताले पनि सरकार स्थिर होस् । राजनीतिक स्थिरता खोजेका थिए । आम जनताले आशा र भरोसा दिओस् भन्ने आशा राखेका छन् । अहिले यो अध्यादेश आउने भन्ने हल्ला छ (हुन त प्रधानमन्त्री र कानूनमन्त्रीले पनि अध्यादेश ल्याउने कुरा छैन भन्नु भएको छ राम्रै हो) । यो अध्यादेश ल्याएर के गर्न खोजेको ? सरकार राम्रो चलाउनुहोस् न भइगयो नि । जनताले राजनीतिक स्थायित्व खोजेको हो । आर्थिक विकास खोजेको हो । तर, सरकारमा बस्नेहरु रेमिट्यान्स बढेको बढेकै छ भनेर खुसी हुनुहुन्छ । म चाहिँ त्यतिले मात्रै खुसी हुनुपर्छ भन्ने छैन । ब्याजदर घटेको छ । किन बैंकमा पैसा थुप्रिएको छ ? लोन लिन व्यवसायी किन जाँदैनन् भन्ने विषयमा सोच्नु परेन ? किन सिमा क्षेत्रका भारतीय बजार जोगवनी, बिरगञ्ज, सिलिगुढीमा नेपाली गएर किन सामान किनेर आउँछन् ? त्यसको कारण के हो ? हामी के कुरामा अप्ठ्यारो परेको छ । कच्चा पदार्थ आयातमा कर धेरै लगाइदिएको छ । अनि तयारी वस्तुमा कर कम गरिएको छ । त्यसले गर्दा यहाँका उद्योगहरु धरासायी भए । यो सोच्ने कुरा हो नि ? यस्ता कुराहरुले देशलाई असर गरेको छ ।

भनेपछि, सरकार सोचबिहीन भयो ?

– होइन म त्यसो भन्दिन । गर्न खोज्नु भएको छैन भन्ने पनि होइन । तर, सय दिन बित्यो । अब समय छैन । केही राम्रो काम पनि भएको छ । टिआरसी विधेयक आयो, नागरिक एपमा लाइसेन्स राख्ने कुरा आयो त्यो राम्रो कुरा हो । त्यस्तै दूधको बाँकी भुक्तानी भयो, उखु किसानको भुक्तानी भएको छ । राम्रो गरेको पनि छ । तर, जनताले त्यो आभास पाइराखेको छैन । त्यो कुरामा उहाँहरु (सरकार) लाग्नुपर्छ । अब कुलमान घिसिङलाई हटाउने प्रयास उहाँहरु गरिराख्नु भएको छ । कुलमानले गलत गरेको छ भने हटाउने अरु उपाया होला । तर, बक्यौता उठाउने कुरामा त हटाउन पाइएन नि । आजै मैले सुन्दैछु लाइन काट्ने भन्ने कुरा । उहाँले लाइन काट्ने नकाट्ने आफ्नो कुरा हो । तपाईं हामीले एक हजार तिर्न नसक्दा लाइन काट्ने अनि करोडौं करोडौंको लाइन चाहिँ नकाट्ने ? त्यस्तो पनि हुन्छ । उनीहरु व्यवसायी हुन् भनेर काट्न नपाउने ? यो कहाँको नियम कानून हो ? त्यस्तै उपसभामुखलाई के कारण प¥यो । किन प¥यो हटाउन ? उहाँले केही कमजोरी भएको छ । यस्तो कमि कमजोरी भएको होइन कि उहाँलाई दुई तिहाई बहुमतले हटाइदिने गरी । त्यो कुराले हामीजस्ता मानिसहरुलाई चिन्तित तुल्याएको छ । उहाँहरुले राम्रो काम गर्नुहोस् । गरिरहनु भएको छ भन्ने पनि लाग्छ ।

अहिले नै ओली सरकार ढल्दैन ?

यो सरकार मंसिरमा ढल्छ कि भनेर तपाईंहरुले सोध्नु भयो । विदेशीले ढाल्ने पनि होइन । हामीले नै ढाल्ने हो ढल्ने हो भने । सडकबाट हो भने नेपाली जनताले ढाल्ने हो । संसदबाट ढाल्ने हो भने हामीले ढाल्ने हो । चिन्ता गर्नुपर्ने विषय होइन ।

दल विभाजनसम्बन्धी अध्यादेश तपाईंले रोक्नु भएको हो रे नि ?

– होइन । दल विभाजनसम्बन्धी अध्यादेश रोक्न म को हुँ र ? मैले किन रोक्ने ? तर, अहिलेको सरकारको प्राथमिकता दल विभाजन गर्ने हो ? प्राथमिकतामा पार्ने हो भने कर्मचारी ऐन ल्याउँ, प्रहरी ऐन ल्याउँ न । दल विभाजन नै अहिले किन ल्याउनु प¥यो । के यस्तो अप्ठ्यारो प¥यो कि दल विभाजन ऐन ल्याएर पार्टी फुटाउन उद्दत हुने ?

अर्को प्रसङ्ग । संघीय सरकारले संघीय निजामती कर्मचारी ऐन, प्रहरी समायोजन ऐनलगायतका विषय नल्याएको कारण प्रदेश सरकार कमजोर देखिएका छन् । त्यो किन ढिलाइ भइरहेको छ ?

– म एउटा कुरा भन्छु । तीनवटा ठूला दलका तीनवटै ठूला नेता यि कानूनहरु ल्याउन चाहनुहुन्न । केन्द्रमै त्यो अधिकार राख्न चाहनुहुन्छ । त्यो देखिएको छ । कति वर्ष भयो संविधान कार्यान्वयन भएको ९ वर्ष भयो । यति समयमा कानून दिइसक्नु पर्ने होइन । किन आएको छैन प्रहरी ऐन ? प्रहरीले केही कुरामा असहमति राखेको होला । उनीहरुलाई सम्झाउनु प¥यो नि त । कर्मचारीलाई सम्झाउनु प¥यो । यही कोशी प्रदेशमा १ वर्षमा ६ वटा ७ वटा मुख्यसचिव परिवर्तन हुन्छ । यस्तो पनि प्रदेश चल्छ । उहाँहरु नै चाहनुहुन्न प्रदेश चलाउन म त्यो देखिराखेको छु ।

जनताले पनि संघीयता नचाहेको कुरा छ नि ?

– जनताले संघीयता चाहेको छैन भने उल्टाइदिऔं । जनमत संग्रह गरौं । संघीयता चाहिन्छ चाहिन्दैन । म त संघीयता चाहिन्छ भन्ने मान्छे हुँ । राम्ररी गर्नुपर्छ । चलाउनु पर्छ भन्ने मान्छे हुँ । तर, कानुन दिने काम त सरकारको हो नि ।

रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सडकमा प्रदर्शनहरु भइरहेको छ ? यो कत्तिको जायज छ ?

– कांग्रेसका मन्त्री, पूर्वमन्त्रीहरू पनि कतिपय इस्युमा जेल जानु भएको छ । तर, नेपाली कांग्रेसले जहिल्यै पनि कानुनी राज्यलाई मानेर हिंडेको छ । हामीले न्यायपालिकालाई अप्ठ्यारो पार्ने काम गरेनौं । न्यायलयले जे भन्छ त्यसलाई हामीले सहर्ष स्वीकार गरेर हिंडेको राजनीतिक दल हौं । हामी डेमोक्रेसिमा विश्वास गर्छौ । रास्वपाले पनि डेमोक्रेटिमा विश्वास गर्छ भने यो भीडतन्त्रले रविलाई छोडिदेउ भनेर हुँदैन । न्यायपालिकाले जे निर्णय गर्छ त्यसलाई स्वीकार गरेर हिंड्नुपर्छ ।

धनराज गुरुङ र ऋषिकेश पोखरेललाई अनुसन्धान नै भएन नि ?

– धनराज गुरुङ जी पनि त्यस्ता घटनामा संलग्न हुनुहुन्छ भने छानविन गर्नुप¥यो । धनराजजीले त संसदमै म बारे कुरा उठेको छ मलाई पनि छानविन गर भनेर भनिराख्नु भएको छ त । गरे भइगयो नि कसले रोकेको छ र ? तर, एउटा कुरा हामीले बुझ्न जरुरी छ । फौजदारी मुद्दामा जो व्यक्ति संलग्न हुन्छ त्यो व्यक्ति नै दोषी हुन्छ । त्यसको श्रीमान्, श्रीमती वा छोराछोरी संलग्न हुँदैन । त्यो विषय हामीले बुझ्न जरुरी छ । यसर्थ त्यो घटनामा धनराजजीको श्रीमतीको संलग्नता छ भनेर आएको छ । ऋषिकेश पोखरेलको कुरा पनि उहाँको श्रीमती पर्नुहुन्छ । फौजदारी मुद्दामा त जो संलग्न छ त्यो मात्रै पर्ने हो । तर, ऋषिकेश जीले छानविनको माग गरेको सुनेको छैन । धनराज जीले त संसदमै भन्नु भएको छ ।

नेकपा एमालेले भाटभटेनीका संचालक मिनबहादुर गुरुङबाट जग्गा लिने कुरा ठिक हो कि होइन ?

– मिनबहादुर जीलाई म पनि चिन्छु । उहाँ समाजसेवी चाहिँ हो । उहाँले विभिन्न हस्पिटलहरू बनाइदिनु भएको छ । अरु कुरा पनि गर्नु भएको छ । त्यो एउटा राम्रो पाटो हो । तर, आजको दिन पनि ललिता निवास प्रकरण र सम्पत्ति शुद्धीकरणमा उहाँ विरुद्ध मुद्दा छ । त्यस्तो मुद्दा चलिरहेको विषयमा एमालेलाई जुन जग्गा दान दिनुभयो । त्यसले मान्छेमा एउटा शंका उब्जिएको छ । त्यो शंका उब्जनु स्वभाविक पनि हो । एमालेजस्तो पार्टीले त्यसलाई अहिले नस्वीकारेको भए राम्रो हुने थियो ।

कांग्रेसको सभापतिको तयारी गर्नुपर्ने समय नजिकिँदै छ । तपाइँ कहिलेदेखि गाउँ–गाउँ जाँदै हुनुहुन्छ ?

– कांग्रेसको सभापतिको तयारी यहाँ बस्ने साथीहरुले गर्ने हो जिल्ला–जिल्लामा । महाधिवेशन प्रतिनिधि आएपछि हामी जिल्ला जिल्ला घुम्ने हो । तयारी भइरहेको छ । तयारी गरिरहेको पनि छौं । कांग्रेसको इन्टरनल इलेक्सन हुन्छ । गाउँगाउँ गएर भोट माग्ने कुरा त सभापतिको उम्मेद्वारले आउँदैन ।

तपाइँले सभापतिको उम्मेद्वार उठ्ने हो भनेर घोषणा त गर्नु प¥यो होला नि ?

– अहिले समय छ । सभापतिमा उठ्न त पहिले पनि म उठेकै हो । म पराजित भएकै हो । यस पटक पनि लजिकल छ म उठ्छु ।

कोइराला परिवारको एउटै आवाज किन हुन सकिरहेको छैन ? डा. सशांकले नेपालको प्रधानमन्त्री महिला हुनुपर्छ भनिरहनु भएको छ । गिरिजाबाबु हुँदा एउटै आवाज आउँथ्यो त्यो किन अहिले हुन सकेको छैन ?

– कोइराला परिवारको एउटै आवाज बनाउन म प्रयास गरिरहेको छु । तर, गिरिजाप्रसाद कोइराला हुँदा जस्तो हुनका लागि हामी गिरिजाप्रसाद कोइराला नै होइनौं नि त ।

कोशी प्रदेश सरकारमा तपाइँको समूहले दुई वटा मन्त्री माग्दै हुनुहुन्थ्यो रे । अहिले त मुख्यमन्त्री नै माग्नु हुँदैछ भन्ने चर्चा छ नि ?

– न त मलाई मुख्यमन्त्री चाहिएको छ न मन्त्री चाहिएको छ । मलाई केही पनि चाहिएको छैन । तर, राजनीति गर्ने व्यक्तिहरुले आफ्नो मात्रै होइन आफ्नो समूहको, आफ्नो साथीहरुको सोचाईलाई पनि सँगै लिएर हिंड्नुपर्ने हुन्छ । खाली कोशी प्रदेश मात्रै होइन । सातै प्रदेशको मैले हेरिरहेको छु उहाँहरुले के गर्दै हुनुहुन्छ भनेर । अलिकति मलाई चित्त नबुझेको कुराहरु छ । त्यो कुरा म सभापतिजीसँग राख्छु ।

भनेपछि कोशीमा स्वास्थ्य मन्त्री अझै खाली रहन्छ ?

मन्त्री बनाउने मैले होइन । कोशी प्रदेशको संसदीय दलको नेता र पार्टीको केन्द्रीय सभापतिले बनाउने हो । मैले गर्ने कुरा होइन । मलाई सोधेको पनि छैन ।

तपाईंले आफ्नो भागमा दुई वटा मन्त्रालय माग्नु भयो भन्ने कुरा छ नि ?

यो भागको भन्ने कुरै छैन । यहाँ ४० प्रतिशतको कुरा पनि होइन । मैले कुनै भाग मागेको छैन । तपाइँहरु गलत प्रचारमा नलाग्नुहोस् । हो के भने राजनीति गर्दा ह्युमुलेसन भन्ने पनि हुन्छ । त्यो चाहिँ मैले हेरिरहेको छु । ७ वटा प्रदेशमा उहाँहरुले के गर्दै हुनुहुन्छ । कसरी गर्दै हुनुहुन्छ । मसँग कति सल्लाह लिँदै हुनुहुन्छ भन्ने कुरा ।

के तपाइँलाई ह्युमिलेट गर्ने काम भइरहेको छ ?

– त्यो हो कि होइन म सभापतिसँगै कुरा गर्छु ।

तपाइँकै गृहप्रदेशको प्रदेश सरकारमा स्वास्थ्य मन्त्री नपठाउँदा तपार्इंलाई पनि प्रश्न उठ्दैन ?

– शेखर कोइरालाले मन्त्री दिने होइन । त्यसरी हेर्नु भयोभने अरु मन्त्रालय शेखर कोइरालाले किन नलिने ? अरु मन्त्रालय किन नदिने ? तपाईंहरुले कसरी शेखर कोइराला समूहलाई स्वास्थ्य मन्त्रालय भन्दिनु भयो ।

स्वास्थ्य मन्त्रालय खाली छ नि त ? प्रचार त्यही छ ।

– मैले मागेको होइन । प्रचार भयो भनेर तपार्इंहरुले विश्वास गर्नु पनि गलत भयो नि त ।

 

शुक्रबार, ०९ कार्तिक, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर