प्रदेश पुनःनिर्माण कोषमा करुणाको सहयोग

विराटनगर । प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ प्रदान गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुनर्निर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो । बिहीबार एक कार्यक्रमकाबीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरे ।

बाढी, पहिरो तथा डुवानले भएको क्षतिको दू्र्तगतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ । चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनः निर्माण तथा मर्मतसम्भारका लागि फाउन्डेसनले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । मुख्यमन्त्री कार्कीले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गरे ।  कोष प्रदेशको पुनर्निर्माणमा महत्वपूर्ण हुने उनले बताए ।

करुणा फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धी काम गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मासमेत सहभागी थिए ।

बिहिबार, ०८ कार्तिक, २०८१, साँझको ०७:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर