कुनै बेला दसैँको सन्दर्भमा प्रहरी संगठनका डिएसपी, एसपी, एसएसपी, डिआएजी, एआइजीदेखि आइजिपीसम्म (प्रहरीका उच्च अधिकारी)लाई देशैभरबाट खसी बटुलेर उपहार दिइन्थ्यो । त्यो चलन आजभन्दा २४–२५ वर्ष अगाडिसम्म चलिरहेकै थियो । उपहारमा आएका खसीहरु प्रहरीका उच्च अधिकारीहरूले घर लैजान्थे र भोज खान्थे । धेरै भएका खुसीहरु विक्री गरेर पैसा गोजीमा हाल्थे ।
त्यो परम्पराले उच्च ओहोदाका सबै लाभान्वित नै थिए । २०५४ सालतिरको दशैंमा तत्कालिन एआइजी अच्युतकृष्ण खरेललाई पनि खसी उपहार आयो । आफूलाई उपहार आएको खसीले दसैँ टर्ने भयो भन्ने उनलाई पनि नलागेको होइन । तर, जब उनले आफू बस्ने घरमा खसी लिएर गए अनि नियालेर हेरे । खसीको एउटा सिङमा लेखिएको थियो, ‘एआइजी खरेल’, अर्को सिङमा लेखिएको थियो, ‘ …केजी ।’
त्यसबेलाको सम्झना गर्दै खरेल भन्छन्, ‘समाजका हरेक क्षेत्रमा चाकडी, चाप्लुसी हुन्छ । त्यो संसारको जहाँ पनि हुन्छ । त्यसलाई झोले मानसिकता भन्दा पनि हुन्छ । म एआइजी थिएँ । दसैँमा खसी उपहार आउने त मलाई थाहा थियो । तर, त्यो संस्कार मलाई त्यति मन पर्दैन थियो । जिल्ला–जिल्लाबाट खसी लिएर आउने गर्दथे । सम्भावित आइजिपी तथा चिप सावलाई खुसी पार्न खसी ल्याइदिने परम्परा थियो । त्यसरी नै मलाई पनि एउटा दशैंको सन्दर्भमा खसी आयो । मैले खसी ल्याएँ । ल्याएको खसीको सिङ हेरेको त एआइजी खरेल लेखेको रहेछ ।’
खरेललाई खसीको सिङमा लेखिएको अक्षरले नराम्रो बिझ्यो । ‘संगठनमा आफ्नै किसिमले नदेखिने गरी कल्चरको रुपमा करप्सनको विकास भएको रहेछ । मलाई ल्याउनेले अर्कोलाई पनि ल्याउँछ । त्यसपछि मैले त्यो खसी फर्काइदिएँ,’ उनले उक्त कथा सुनाउँदै गए, ‘मेरो धुम्बाराहीमा घर थियो । त्यो खसी ल्याइदिनेले मलाई दिएको खसी घरछेउको पाखामै छोडेर गएछ । म भोलिपल्ट बिहान पशुपति जाँदैथिएँ । मलाई दिएको त्यही खसी चरिरहेको छ । सिङमा त एआइजी खरेल लेखेकै थियो । त्यसले मलाई थप हिनताबोध भयो ।’
त्यसबेलै उनी प्रहरी संगठनको दोस्रो बरियताको अधिकारी भएपनि निर्णायक तहमा थिएनन् र उनले त्यो संस्कृतिको अन्त्य गर्न सकेनन् । तर, उनलाई यो प्रचलन अन्त्य गर्नुपर्छ भन्ने लाग्यो । ‘त्यो घटना हुँदा म सेकेण्डमेन थिएँ । फष्ट मेन भएँ भने म यसलाई हटाउँछु भनेर त्यही बेला संकल्प गरेँ । त्यसपछि म जुन दिन आइजीपी बने, त्यसपछि आएको दसैँमा मैले विभागीय परिपत्र गरेर कसैले पनि कुनै ठाउँबाट यो प्रकारको उपहार ल्याउने काम पूर्णतयाः बन्द गर्नु भनेँ ।’
त्यसपछि खसी उपहार ल्याउने चलन बन्द भयो । खरेलले कुनैपनि पदाधिकारीले त्यसप्रकारको उपहार अनुमतिबिना ल्याउन नपाउने परिपत्र पनि गरेका थिए । ‘मैले त्यसलाई रोकेको हो । त्यो किन गरें भने ३–४ जना एआइजीलाई जिल्लाले पठाउने र जिल्लाले पनि उठाउने गर्नु भनेको त विकृति र विसंगति हो । त्यसो भएको हुनाले मैले बन्द गराएँ । अहिले के छ कसो छ त्यो चाहिँ तपाई नै बुझ्नु होला,’ उनले भने ।
खरेल २०५४ सालदेखि २०५७ सालसम्म प्रहरी प्रमुख बनेर काम गरेका थिए । ‘त्यसबेला प्रत्येक युनिटमा भोज हुन्थ्यो, डेरा बस्नेहरुको परिवारलाई पनि बोलाउने र खुवाउने परम्परा थियो,’ २०५२ साल अन्तिमदेखि प्रहरी सेवामा भर्ना भएका कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङ सम्झन्छन्, ‘हामी भर्ना हुँदाको दसैँ रमाइलो हुन्थ्यो । प्रत्येक कार्यालयमा बडा भोज गर्ने चलन थियो ।’ प्रहरीले अहिले त्यसखालको भोज गर्न सक्दैन । किनकी त्यसको लागि बजेट हुँदैन । माग्न जान मिल्दैन । ‘अहिले सरकारी बजेट नहुँदा भोज खुवाउन सक्ने अवस्था छैन । खुवाउने हो भने हामी माग्न जानुपर्ने हुन्छ । उठाएर, मागेर खुवाउँदा प्रहरीकै बद्नाम हुन्छ । प्रहरी नै भिखारी जस्तो देखिन्छ । प्रहरी बद्नाम भयो भन्ने हिसावले त्यो नगरौं भनेर भोजको अन्त्य गरियो,’ खापुङले सुनाए ।
पहिले–पहिले यातायात व्यवसायी संघहरुले अनिवार्य रुपमा हाइवेमा प्रत्येक ठाउँमा खसी–बोका छोड्दै हिँड्थे । ‘म इन्स्पेक्टर भएर बेलबारी बस्दा पनि कति खसी बोका ल्याइदिन्थे । माग्दैनथियौं । तर, स्वतः स्फूर्तरुपमा दिएकाहरुको लिने र खाने भयो । पछि–पछि चाहिँ लिँदै नलिने भनेर सुधार हुँदै गयो’ खापुङ भन्छन्, ‘खरेल साबको पालादेखि खसी पठाउनु पर्दैन भन्ने भयो । उहाँले लिखित नै निर्देशन दिनुभएको थियो ।’
खापुङले पनि खसी उपहार आउने गरेको विषयलाई ताजा गर्न खोजे । ‘हामी भर्खर भर्खर नियुक्त भएको बेला काठमाडौंको हेडक्वाटर गणतिर आइजी, एआइजी साबहरुको नाममा खसी आउँथ्यो । त्यहाँ आएका खसीको एउटा सिङमा यति केजी, अर्को सिङमा अफिसको नाम लेखेर पठाउने चलन थियो । त्यो सबै खाएर सकिने अवस्था त थिएन । खायो, पियो, कति त बेच्थे होला । त्यो चाहिँ उहिलेको कुरा हो । अहिले पछिल्लो समयमा त्यो छैन,’ उनले भने ।
प्रहरीमा पछिसम्म सामान्य पाटी गर्ने चलन थियो । सबै स्टाफलाई भेला गरेर एक छाक खुवाउँ है भन्ने चलन पनि थियो । अहिले त्यो पनि कम भएको खापुङ बताउँछन् । ‘अहिले चाहिँ यसो ५–१० किलो मासु ल्याएर, चिउरा, अचार बनाएर खाजा खाँदै दशैंको शुभकामना आदन–प्रदान हुने खालको भएको छ,’ उनले भने । यस्तै टिकाको दिन मातहतका कर्मचारीलाई टिका लगाइदिने चलन अहिले पनि छ । ‘धेरै प्रहरी कर्मचारी घर जान नपाइरहेको अवस्था हुन्छ । टिका भनेको आशिर्वाद लिने हो,’ उनले भने ।
पूर्वआइजिपी खरेल भने प्रहरीमा पूजापाठको कल्चर पनि रहेको बताउँछन् । ‘सेनामा, प्रहरीमा बन्दुकहरु सजाउने, कोतपूजा हुन्छ । मौलो हुन्छ । देवी देवताको नाममा पूजा हुन्छ । शक्ति आर्जन गर्नका लागि यो गरिएको हो । कुनै पनि शक्ति आँखाले देखिँदैन । त्यसो हुँदा त्यो अदृश्य शक्ति प्राप्तीका लागि नवदुर्गाको आरधना र पूजा गर्ने गरिएको हो । त्यसले सिंगो प्रहरी संगठनलाई शक्ति दिन्छ भन्ने मान्यता हो,’ खरेलले भने ।
अहिले पनि प्रहरी संगठनमा राजा हुँदादेखि सुरु भएका संस्कृतिहरु प्रचलनमै छन् । अहिले पनि गोरखाबाट फूलपाती ल्याइन्छ । त्यसलाई सुधार गर्नुपर्ने खापुङको धारणा छ । ‘त्यो भनेको त गोरखाका राजाहरुको कुल देवता त्यहाँ रहँदा पो फुलपाती काठमाडौं ल्याइएको हो त’ उनी भन्छन्, ‘यो परम्परा अहिले पनि कायमै राख्नु भनेको त्यही राजाहरुको परम्परालाई नै निरन्तरता दिनु जस्तै हो ।’