नेप्सेसँगै घट्यो कारोबार रकम

विराटनगर । मंगलबार नेप्से परिसूचक घटेर बन्द हुँदा कारोबार रकम पनि घटेको छ । अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से यस दिन भने घटेर बन्द भएको हो ।

यस दिन नेप्से परिसूचक २७.३९ अंक घटेर २६६३.३२ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० स्टकको ४५ हजार ८७० पटकको कारोबारमा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ९४ रुपैयाँ ३० पैसा बढेर १ हजार ३७ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरै बढेको छ ।

कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.५० प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरै घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब २४ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेको छ । दशैं अगाडि अब मंगलबार मात्र सेयर खुल्ला रहनेछ । असोज महिनामा दशैंपछि २९ र ३० गते बजार खुल्नेछ ।

मङ्गलबार, २२ असोज, २०८१, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर