जुवा खालबाट गाउँपालिकाका पूर्वअध्यक्ष पक्राउ गर्ने खापुङ सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जुवाको खालबाट गाउँपालिका पूर्वअध्यक्षलाई पक्राउ गर्ने प्रहरी जवानलाई कोशी प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको छ । मोरङको ग्रामथानका पूर्वअध्यक्ष शिवनारायण माझीलाई पक्राउ गरेका टीकाराम खापुङलाई २०८१ भदौको सर्वोत्कृष्ट प्रहरी घोषित गरेर मंगलवार सम्मान गरिएको हो ।

भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका–४ स्थित जुवा खालबाट ग्रामथानकै पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले नियन्त्रण लिएको थियो । प्रहरीले जुवाको खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५०० रुपैयाँसमेत बरामद गरेको थियो ।

खापुङले यस प्रकरणको सूक्ष्म रूपमा सूचना संकलन गरेको जनाइएको छ । समातिएका ‘जुवाडे’हरू भने जनही ३० हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।  पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै भदौ ६ गते सुनसरीको धरान उपमहानगरपालिका १३ स्थित कोशी लोकमार्गमा हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरिएको थियो । धनकुटाबाट आउँदै गरेको ट्रकको ४४ वटा बोरामा रहेको १ हजार ४२० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरी इटहरी उपमहानगरपालिका १ बाट २४३ किलो ५०० ग्राम तयारी गाँजा बोकेको कार र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै भदौ १७ गते पनि उनले नै सूचना संकलन गरेर प्रहरीले थप गाँजा नियन्त्रणमा लिएको थियो । धरान १३ निसानेबाट ४ वटा बोरामा ९८ किलो गाँजा बोकेको कार नियन्त्रणमा लिइएको थियो ।

यी प्रकरणमा खापुङले नै सूचना संकलन गरेको प्रहरीले जनाएको छ ।

बुधबार, ०९ असोज, २०८१, साँझको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर