आजबाट कृषि एक्स्पो सुरु हुँदै

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा आजबाट कटहरीस्थित कृषि थोक बजार परिसरमा कृषि एक्स्पो आयोजना हुँदैछ ।

नेपाली किसानहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने, बजारीकरणमा सहयोग गर्ने, किसानहरुले आधुनिक औजार, यन्त्र, उपकरण र खेती पद्दतिका बारेमा जानकारी दिने, उन्नत जातका बिउ बिजन तथा मलखादका बारेमा जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघ कोशीले कृषि एक्स्पो आयोजना गरेको हो । कृषि एक्स्पो भदौ ३० गतेसम्म आयोजना हुने छ ।

विगतमा कृषि मेला भनिए पनि औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको रुपमा यस्ता एक्स्पोहरु हुने गरेकोमा यस पटक महासंघले विशुद्धरुपमा कृषिसँग सम्बन्धित उत्पादनहरु, सूचनाहरु र विषयहरुमा आधारित हुने गरी मेला आयोजना गरेको महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

आजबाट सुरु हुने मेलामा भारत बिहार प्रदेशका कृषि मन्त्री उपस्थित हुने भएका छन् । एक्स्पोमा बिहार व्यापार एशोसिएसनका पदाधिकारीहरु, बिहार कृषि विभागको समन्वयमा २० वटा स्टलसहित उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ । कृषि एक्स्पो उद्घाटनमा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीसमेत सहभागी हुनेछन् ।

कृषि एक्स्पोमा कृषि सम्बन्धी विभिन्न उत्पादन, यन्त्र तथा उपकरण, बिउबिजन र सूचनामूलक सामग्रीहरुका १३० वटा स्टलहरु रहने छन् ।

बिहिबार, २७ भदौ, २०८१, बिहानको ०८:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर