विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा अस्मिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्मितालाई प्रहरीले बुधबार बिहान फेला झापा बाट नियन्त्रणमा लिएको हो ।
घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।
मोरङप्रहरीका अनुसार उनको शारीरिक अवस्था निक्कै कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताल सँगै लिएर गएको १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीकी गत शनिबार दिउँसो मृत फेला परेका थिए । आमा भने भेटिएकि थिइन्न ।
अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । उनीहरुका नाबालिका छोरीहरु आइका र अपर्णा सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए ।पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नीको विवाद भएपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएको जानकारी प्रहरीले पाएको थियो । नाबालिकाहरु भोलिपल्ट मृत फेला परे पनि आमा हालसम्म बेपत्ता थिइन् ।
प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । तर, अस्मिता भने जीवितै रहेको पुष्टि भएको छ । उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर यकिन भइ नसकेको प्रहरीले जनाएको छ । दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।
डीएसपी बस्नेतले अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको बताए