रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

विराटनगर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । साताको पहिलो २ कारोबार दिनमा करिब २०० अंकको गिरावट आएको नेप्से बुधबार सामान्य अंक बढेर बन्द भएको बिहीबार पुनः घटेको हो ।

बिहीबार नेप्से परिसूचक ३६.८३ अंक घटेर २७४९.५७ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन १३ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको १ लाख ४५ हजार ९२१ पटकको कारोबारमा १२ अर्ब २२ करोड २८ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन जनउत्थान सामुदायिक लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने रसुवागढी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन ३७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अपि पावरको साढे ३६ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३५ करोड बराबरको शेयर किनबेच भएको छ ।

यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको बजारमा जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेको छ ।

बिहिबार, १३ भदौ, २०८१, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर