विराटनगर । साताको अघिल्ला दुई दिन ठूलो अंकले गिरावट भएको नेपाली शेयर बजार मापक नेप्से परिसुचक बुधबार झिनो अंकले बढेर बन्द भएको छ ।
मंगलबार १११.९६ अंकले र आइतबार ७९.८८ अंकले गिरावट आएको नेप्से सुचकमा यस दिन ३.८० अंकको बृद्धि भएको हो । इन्ट्रा डे कारोबारमा ८० अंकसम्म बढेको नेप्से पुनः २० अंकभन्दा तल झरेको थियो । अन्तिमम समयमा भने थोरै सकारात्मक हुँदै २७८६.४० अंकमा बन्द भएको छ ।
नेप्सेमा सुधार भएपनि कारोबार रकम भने भारी गिरावट भएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोडभन्दा बढिको कारोबार भएकोमा यस दिन १३ अर्ब ७२ करोड ६९ लाखको कारोबार भएको छ । यस दिन ३२६ स्टकको १ लाख ६८ हजार १७४ पटकको कारोबारमा २ करोड ५० लाख ६ हजार ५८५ कित्ता शेयर किनबेच भएको छ ।
यस दिन बैंकिङ समूहको सूचक ०.९२, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढ्यो । यस्तै, विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।
यस दिन लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त तथा माइखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । यस्तै पिपुल्स हाइड्रोपावरको ९, थ्रीस्टार हाइड्रोपावरको ७.७, एचआईडीसीएलको ५.६ प्रतिशत मूल्य बढ्यो । कर्णाली विकास बैंकको ६.८, स्वरोजगार लघुवित्तको ५.१, अपरसोलु हाइड्रोको ५.१ तथा मल्टिपर्पस फाइनान्सको ४.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा भने चन्द्रागिरि हिल्स ४३ करोडको कारोबार भई अगाडि रह्यो भने त्यपछि नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावरको धेरै रकमको कारोबार भयो ।