भोजपुरकी मुना पाण्डेको अमेरिकको टेक्सासमा हत्या

विराटनगर । भोजपुर घर भएकी २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा हत्या भएको छ । ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् ।

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ अध्ययनरत थिइन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।

हत्याराले ओछ्यानमै गोली हानेको भिडियो हेर्दा सहजै अनुमान गर्न सकिने अमेरिकाबाट प्रकाशित हिमालय खबरले जनाएको छ । ओछ्यान भरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएकोले घटना शनिवार नै भएको हुनुपर्ने आशंका गरिएको छ ।

त्यहाँस्थि नेपालीहरुले दिएको जानकारी अनुसार मुनालाई तीन वटा गोली हानिएको थियो । सन् २०२१ मा अध्ययनका लागि अमेरिका पसेकी मुनाले सन् २०२२ को जनवरीदेखि हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुराँमा करिब एक वर्ष काम गरेकी थिइन् । त्यतिखेरका सहकर्मी र रेष्टुरेन्टका ग्राहकहरूले मुना निकै मृदुभाषी र असल व्यक्ति भएको प्रतिकृया दिएका छन् ।

मुनाको नेपालमा आमा मात्र छन् । स्थानीय नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्वअध्यक्ष डा.विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ ।

मुनालाई आमा अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काएकी थिइन् । पारिवारिक श्रोतका अनुसार श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर छोरीलाई हुर्काएकी अनिताले आफै काम गरेर निकै संघर्ष अमेरिका पठाएकी थिइन् । मुनाको एकजना श्वेत अमेरिकनसँग प्रेमसम्बन्ध रहेको बताइएको छ । (अमेरिकाबाट प्रकाशित अनलाइन खसोखासको सहयोगमा)

बुधबार, १२ भदौ, २०८१, बिहानको १०:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page