विराटनगर । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन् ।
आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि मुलुकलाई नयाँ दिशा दिनका लागि संसद् विघटन गरिएको हो ।
हसिना देश छोडेर भागेकी छन् । उनले अहिले भारतमा शरण लिएकी छिन् ।
राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि जनाइएको छ ।
यसअघि आन्दोलनरत विद्यार्थी नेताहरूले संसद भंग गर्न अल्टिमेटम दिएका थिए । मंगलबार दिउँसो ३ बजेसम्म संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने उनीहरूको चेतावनी थियो ।
आन्दोलनको कारण पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए । गत जनवरीमा भएको निर्वाचनपछि गठित संसद्बाट दुईतिहाईभन्दा बढि सांसदको समर्थनसहित हसिना पुनः प्रधानमन्त्री बनेकी थिइन् ।
आन्दोलनकारी विद्यार्थी नेताहरूले सेनाले बनाएको सरकार अमान्य हुने भन्दै तत्काल संसद् विघटन गर्न माग गर्दै आएका थिए । सोमवार साँझ राष्ट्रपति शाहबुद्दिनले विभिन्न नेताहरूको बैठकपछि अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने घोषणा गरेका थिए ।
हसिनाको पार्टी अबामी लीगको प्रतिद्वन्द्वी तथा बेगम खालिदा जियाको दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी)ले छिटोभन्दा छिटो निर्वाचन हुनुपर्ने माग गरेको छ । उक्त दलले विद्यार्थी नेताहरूलाई आफ्नो पूर्ण समर्थन रहने बताएको छ।
विद्यार्थी आन्दोलनका तीन नेता आसिफ मोहम्मद, नाहिद इस्लाम र अबु बकर मजुम्मदारले भिडिओबाट आफ्नो धारणा सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका हुन् । हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन’ विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडिओमा भनेका छन् । उनले युनुस उक्त जिम्मेवारी लिन सहमत भएको समेत जनाउँदै सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार नगर्ने बताएका छन् ।
समाचारसंस्था रोएटर्सले युनुसका प्रवक्तालाई उद्धृत गर्दै यस जिम्मेवारीका लागि युनुस सहमत रहेको उल्लेख गरेको छ । उसका अनुसार अहिले स्वास्थ्योपचारका लागि फ्रान्सको प्यारिसमा रहेका युनुस सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर तत्कालै स्वदेश फर्किने तयारीमा छन् । (बिबिसीको सहयोगमा)