लोहन्द्रा खोलामा विपद् उद्धार अभ्यास

विराटनगर । जहदा गाउँपालिका ४ रामचोकस्थित लोहन्द्रा खोलामा कृतिम घटनामार्फत विपद् उद्धार अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाहरुको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा संचारकर्मीहरुको पनि उपस्थिति थियो ।

प्रहरीले खोलामा रबर बोटसहित उद्धार टोलीको नेतृत्व गरेको थियो । खोलामा बगेको मानिसलाई कसरी उद्दार गर्ने भन्ने विषयमा अभ्यास गरि एको थियो ।अभ्यासका क्रममा उद्धार टोलीका सदस्यहरूले खोलामा रबर बोटको माध्यमबाट बाढीको भेलमा बग्दै आएका व्यक्तिहरूलाई बचाउने तरिका सिकेर प्रदर्शन गरेका हुन् । उद्धार गरिएका घाइतेलाई तत्कालै स्ट्रेचरमा राखेर एम्बुलेन्सबाट नजिकैको स्वास्थ्य केन्द्रसम्म पु¥याउन अपनाउनु पर्ने विधिहरु पनि अभ्यासका क्रममा प्रदर्शन गरिएको थियो । त्यसमा सरोकारवाहरु कसले कस्तो भूमिका निर्वाह गर्ने भन्ने सिकाइएको थियो ।

कार्यक्रममा विभिन्न टोलीहरू गठन गरी खटाइएको थियो । सबै टोलीहरूले आफूलाई दिइएको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरेका थिए । यस प्रकारको अभ्यासले विपत्तिको समयमा जोखिम न्युनीकरण गर्न र धनजनको क्षति घटाउन मद्दत पुग्ने जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति मोरङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र सीआइएफआरसीको सहयोगमा अभ्यास कार्यक्रम आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको सहोयोगमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी अशिम श्रेष्ठ, जिप्रका मोरङका प्रहरी उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक बिश्वबन्धु खड्का, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्कालगायतका सुरक्षा अधिकारीहरु उपस्थित थिए ।

बिहिबार, १७ साउन, २०८१, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर