बिराटनगर । लोकप्रिय लोक गायक एलपी जोशीप्रति कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
झापा दमकमा बस्दै आएका गायक जोशीको बिहीबार राति निधन भएको थियो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘कान्छी मट्याङट्याङ्’लगायतका दर्जनबढी गीत चर्चित छन् । यस्तै अब्बल दर्जाका चित्रकार, कलाकार समेत रहेका जोशीको निधनमा नेपाली संगीत तथा कला क्षेत्रमा अपुरणीय क्षती भएको मुख्यमन्त्री कार्कीले सामाजिक संजालमा दुख व्यक्त गर्दै लेखेका छन्।
नेपालको दोस्रो चलचित्र ‘हिजोआजभोलि’ मा नेपालकी पहिलो नायिका भुवन चन्दसँग मूख्य भूमिकामा अभिनय गर्दै अभिनय यात्र शुरु गरेका जोशीले ९ वटा चलचित्रमा अभिनय गरेका छन् । कोशी प्रदेशको मौलिक किराँत नृत्यलाई पहिलोपल्ट राष्ट्रिय स्तरमा चिनाउने काम जोशीले नै गरेका थिए । पहिलोपल्ट चर्चित महाकाव्य मुनामदनलाई गीतिनाटकका रुपमा मञ्चन गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले जोशी बहुमुखी प्रतिभाको धनी भएको चर्चा गरेका छन् ।