विराटनगर । ‘रातो नदी’ कविता संग्रह विमोचन पूर्व नै धेरैले अनुमान लगाइसकेका थिए पक्कै यसले महिलाका भोगाई बोलेको छ भनेर ।
महिलाका विषयमा विचारहरु पस्किरहने कवि जुनु रानाको कविता संग्रह भर्खरै विमोचन भएको छ । र धरानमा आयोजना भएको साहित्य उत्सव कार्यक्रमा कविता माथिको विमर्शमा कविहरुबाट पनि विमोचन पूर्व राखिएको धारणा नै धेरै आयो ।
महिलाका अनुभुति र समाजमा भोगेको विविध विभेदहरुलाई समेत कवितामा उठान भएको प्रतिक्रिया विमर्शकर्ताहरुको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्रकुबेर खापुङले कावितामा महिलाहरु माथिको विभेद मात्रै नभएर समाजमा हुने विभदको आवाज उठेको बताएका छन् । डीआईजी खापुङ कवि साथै गीतकार हुन् । कविताको अनुरागीले मात्रै नभएर सबैले हेर्दा बुझिने काविता सरल रहेको उनको भनाई थियो ।
सरल भाषामा कविले आफ्नो अनुभुती पस्किएको बताउदै उनले ‘फेमिनिष्ट मुभमेन्ट’को माध्यममा देखिएको बताए । सबै खालको भेदभाव विरुद्ध कवितामा उठान गरिएको बताउदै डीआईजी खापुङले कविता पढ्दा केही न केही छुने समेत बताए ।
कवि सिमा आभासले यो कविता महिलाले आफ्नो कुरा उठान गर्दा कसरी भरिभाषित गर्छ भन्ने कुरालाई एउटा मानक बन्न सक्ने बताए । ‘महिलाहरुले आफ्नो कुरा उठाउदा आमा बन्दा रगतलाई कसरी परिभाषा गर्छ । मासिक सत्रलाई कसरी परिभाषित गर्छ ? महिलाले आफ्ना् कुरालाई कसरी उठान गर्छ भन्ने कुरालाई एउटा मानक बन्छ भन्ने लाग्छ ।’ उनले भनिन्,‘लेखक स्पष्ट ढंगमा आएको छ केही कुरामा अल्झिए पनि कविता सरल ढंगमा आएको छ ।’
यता, कवि मनु मन्जिललाई कार्यक्रम प्रस्तोता चेतन राईले प्रश्न गर्दै भने ‘तपाईलाई यो कविता कस्तो लाग्यो ?’ उनले प्रतिक्रिया फरक ढंगले दिए । अझ भनाँै ‘जातको ब्रह्माण्ड’ शिर्षक कविता वाचन गरे ।
‘सबै कुरा जातको खोज्नेहरु ।
जातपातमा भेदभाव गर्नेहरु ।
अन्न जातकै उब्जाएर खानू
लुगा जातकै बनाएर लगाउनू
पानी जातकै उमार्नु
सास फेर्ने हावा जातकै बनाउनु …..’
कविता वाचन गरिसक्दा नेपथ्यबाट बज्ने तालीसँगै कवि मन्जिलले प्रश्न गरे हजुरहरुलाई कस्तो लाग्यो ? सहभागीहरुबाट आएको ‘दामी’ शब्दलाई छिचोल्दै उनले भने,‘ मलाई लाग्छ मेरो यही एन्सर हो । ’
हुन त कवि रानाको कविता पढीसकेकाहरुको प्रतिक्रिया अनुसार आक्रोशित भएर लेखेका हुन कि ? भन्ने अनुमान पनि लगाउछन् । कार्यक्रममा पनि प्रस्तोता राईको प्रश्न यही कोणबाट आएको थियो । तर उनले सरल ढंगले उत्तर दिँदै अर्कोशित भएर आफूले कविता नलेखेको दाबी गरेका थिए । शनिबार कलरव धरानले आयोजना गरेको साहित्य उत्सव कार्यक्रममा सिने संवाद, प्रतिनिधि किवता वाचन, समकालीन कविता विमर्श, साथै कवि जुनु रानाको कविता रातो नदीको माथी विमर्श गरिएको थियो ।