विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशको वर्तमान सरकारलाई नै निरन्तरता दिएसँगै यही सरकार आवधिक निर्वाचन नभएसम्मका लागि जाने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
उनले संविधान र कानूनले सबै कुराको स्थायित्व दिने कुरा आजको अदालतको निर्णय स्पष्ट पारेको पनि बताए । ‘सबै कुराको स्थायित्व संविधान र कानूनले गर्छ । कानून र संविधान अनुसार हामी चल्छौं । प्रचलित नियम र अभ्यास अनुसार चल्दा हामी असफल हुने ठाउँ थिएन,’ उनले भने, ‘उहाँहरुले अलिकति जिद्धी गर्नुभएको थियो । त्यसलाई आजको अदालतको निर्णयले स्पष्ट पारिदिएको छ ।’
उनले अब प्रदेशसभा र प्रदेशको राजनीति स्थायित्वतिर जाने पनि स्पष्ट पारे । ‘अब हामी प्रदेशसभा, प्रदेशको राजनीति स्थायित्व, प्रदेशको विकास, समृद्धि, स्वच्छ, सुखी समृद्ध प्रदेश बनाउन लाग्छौं,’ उनले भने, ‘सबैको साथ, सहयोग लिएर अगाडि बढ्छु । मेरो प्रयास सबैलाई सँगै लिएर अगाडि बढ्ने हुनेछ ।’उनले प्रदेशसभाको बाँकी अवधि साढे तीन वर्ष अर्थात् अर्को आवधिक निर्वाचन नभएसम्म सरकार यहीले निरन्तरता पाउने दाबी पनि गरे ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलाशले आज खारेज गरिदिएपछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीकै सरकारले निरन्तरता पाएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो ।
२०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । दायर रिटमा आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएकाले हटाउन नमिल्ने जिकिर गरेका थिए ।