निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिट खारेज

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध उनले रिट दायर गरेका थिए ।

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले रिट खारेज गरेको हो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले आफूलाई सांसदले दिएको समर्थन फिर्ता हुन नसक्ने र २ वर्षसम्म कसैले हटाउन नसक्ने भन्दै सर्वोच्च्मा रिट दायर गरेका थिए । त्यसअघि प्रदेश प्रमुख परर्शुराम खापुङले कार्कीलाई दिएको समर्थन र विश्वासको मत प्रदेशसभाका बहुमत सांसदले फिर्ता लिएको ३० दिनभित्र उनले विश्वासको मत नलिएको भन्दै वैशाख २६ गते नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

जेठ २७ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशसभाका ५२ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । सोहि दिन केदार कार्कीले सर्वोच्चमा रिट दर्ता गरेका थिए । नयाँ बनेको सरकारले प्रदेशसभाका ५७ सांसदको विश्वासको मत पाएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ जनाको समर्थन चाहिन्छ ।

सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्कनेछन् भने रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले निरन्तरता पाउने छन् ।

मङ्गलबार, १२ असार, २०८१, साँझको ०५:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर