हर्क साम्पाङले बजेट ल्याउनै सकेनन्, बजेट निर्धारण समितिको बैठक बस्नै सकेन

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाले निर्धारित समयमा बजेट नल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि बजेट ल्याउने समयसीमा (असार १० गते) सोमबार अन्तिम दिन भएपनि धरान उपमहानगरपालिकामा भने बजेट आएन । उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले बजेट आउन नसकेको बताए । ‘बजेटको प्रक्रिया पूरा नगरी नगरसभाको मिति घोषणा भयो । त्यसपछि बजेट आउन सकेन,’ उनले भने ।

उनका अनुसार बजेट सीमा निर्धारण समितिको बैठकले बजेटको सिमा निर्धारण गरेर बजेट तर्जुमा समितिमा पठाउने, त्यसपछि विषयगत समितिमा गएर बजेट ब्रेक डाउन गर्ने र तर्जुमा समितिले नगर कार्यपालिकामा लाने, नगर कार्यपालिकाले पास गर्ने कुनै पनि प्रक्रिया सुरु भएको छैन । ‘बजेट निर्धारण समितिमै बजेट रोकिएको छ । त्यो समितिको संयोजक नगरप्रमुख हुनुहुन्छ,’ उपप्रमुख बेघाले भने, ‘संवैधानिक व्यवस्था अनुसार आज बजेट ल्याउनु पर्ने हो त्यसको जिम्मेवारी नगर प्रमुखज्यूले लिनुपर्छ ।’

बजेटको सिमा निर्धारण समितिको बैठक बस्न नसक्नुको कारणबारे उपप्रमुख बेघाले आफ्ना भनाएहरु सार्वजनिक गरेका छन् । उनकाअनुसार नगर प्रमुख हर्क साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई निलम्बन गरेर बजेट सीमा निर्धारण समितिको बैठक डाकेका थिए । त्यो बैठक अवैधानिक भएको भन्दै उपप्रमुखसहित समितिको बैठकमा सहभागी भएनन् । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतसहित सहभागी भएर छलफल सुरु गरेको भएपनि बजेटको सिमा फाइनल नभइकन समय गुज्रियो । बेघाले यसको जिम्मेवारी नगरप्रमुख साम्पाङले नै लिनुपर्ने बताए । ‘नगरप्रमुखको विषयमा उहाँलाई नै सोध्नु होला । हाम्रो कुरा भनेको बजेट बन्नुपर्छ । बजेट बनाउनका लागि खेल्नुपर्ने सबै भूमिका खेलेका छौं । खेल्नेछौं,’ बेघाले भने ।

मङ्गलबार, १२ असार, २०८१, बिहानको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर