हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु

एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चार माध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल २१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समेत सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै इरानी राष्ट्रपति र विदेशमन्त्रीसँगै सबै यात्रुको मृत्यु भएको जनाएको छ । यसअघि इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले समेत हेलिकप्टर दुर्घटनास्थलमा कोही पनि जीवित रहेको संकेत देखा नपरेको बताएका थिए ।

आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए । न्यायिक तथा धार्मिक कुलिन वर्गसँग निकट सम्बन्ध रहेका ६३ वर्षीय रइसीलाई इरानीलाई सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको थियो ।

इरानमा सर्वोच्च नेतापछि राष्ट्रपतीय पद दोस्रो वरीयताको हो  इरानमा राज्यसम्बन्धी सम्पूर्ण मामिलाबारे अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले लिने गर्छन् ।

सोमबार, ०७ जेठ, २०८१, बिहानको १०:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page