कटहरीको सडक कालोपत्रे गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित

विराटनगर । विराटनगरको हाटखोला– रँगेली हुलाकी सडक अन्तर्गत मोरङको कटहरी खण्ड कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् । तीन महिना भित्र उक्त सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले सहमति गरेपछि यहाँका स्थानीयले एक हप्तादेखि गर्दै आएको आन्दोलन मङ्गलवारदेखि स्थगित गरेका हुन् ।

उक्त निर्माण कार्यमा ढिला सुस्ती भएको भन्दै कटहरीका स्थानीय १५ चैतदेखि ख निरन्तर रूपमा आन्दोलनमा रहेका थिए । स्थानीयले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीको उपस्थितिमा आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । तीन महिनाभित्रमा हुलाकी सडक खण्ड अन्तर्गत कटहरी क्षेत्रको सडक कालोपत्रे नभए पुनः आन्दोलनमा उत्रिने कटहरीका स्थानीय सञ्जय मण्डलले बताए । ‘स्थानीय प्रशासनको उपस्थितिमा ठेकेदार कम्पनीले कटहरीको खाल्टाखुल्टी सडक पुर्ने र बिहान बेलुका पानी लगाएर धुलो नउठाउने सहमति भएको छ,’ उनले भने, ‘तीन महिनाभित्रमा यो सडक कालोपत्रे गर्ने सहमति भएको छ । नभए फेरी हामी स्थानीय आन्दोलनमा उत्रिनेछौँ ।’

सडक निर्माण कार्यमा ढिला सुस्ती भएको भन्दै यहाँका स्थानीयले १५ चैतदेखि दैनिक एक घण्टा सडक अवरुद्ध गरेर आन्दोलनमा होमिएका थिए ।यसअघि पनि उक्त सडक तत्काल निर्माण गरिनुपर्ने माग राख्दै नागरिक सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको थियो । यसअघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सडक निर्माण तत्काल गरिनुपर्ने माग राख्दै धर्ना दिएका थिए ।

हुलाकी सडक समयमै निर्माण नहुँदा झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रँगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन् ।

राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । कटहरी गाउँपालिका भित्र पर्ने सडक निर्माणमा ढिला सुस्ती भएपछि आन्दोलनमा उत्रिन बाध्य हुनु परेको मण्डलले बताए ।

सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मण्डलले बताए । समयमै सडक नबन्दा यहाँका स्थानीयको घरमा खानामा धुलो खान बाध्य भएको उनले सुनाए । ‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ,’ उनले भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती रु’

पटक–पटक काम सुरु गर्न आग्रह गर्दा काम नभएपछि आन्दोलनमा उत्रिएको उनले बताए । धुवा र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतालाई लिएर आन्दोलनमा उत्रिनु परेको स्थानीय विक्रम थपलियाले बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए । काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने बताए ।निर्माण काम सुरु नगरे आन्दोलन सशक्त पारेर अगाडी बढ्ने उनले बताए ।

मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको सिंघिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ । २०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० सालसम्म पुर्‍याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ ।

सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ ।ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँच वटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।

मङ्गलबार, २० चैत, २०८०, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर