विराटनगर । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत भइरहेको छ । यो कामको नेतृत्व नेकपा (एमाले)ले गरिरहेको छ । यद्यपि अहिलेसम्म कोशी प्रदेशमा कुन पार्टीको नेतृत्वमा सरकार बनाउने, उपधारा (५) अनुसार बनेको सरकार विस्थापित कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयको टुंगो भने लागेको छैन ।
तर, केन्द्रीय सत्ता गठबन्धन दलमै आवद्ध नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईले भने मुख्यमन्त्रीलाई प्रदेश प्रमुखमार्फत बर्खास्त गर्ने तयारी भइरहेको दाबी गरेका छन् । ‘यो उपधारा ५ बाट बनेको सरकारले विश्वासको मत लिने व्यवस्था नै छैन । त्यसकारण अहिलेको मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता छैन । त्यस्तो अवस्थामा के गर्ने भन्ने विषय भनेको अदालत नै जाने हो,’ राईले भने, ‘उहाँहरुको (एमालेको) कुरा चाहिं प्रदेश प्रमुखलाई बहुमतले लेखेर दिएपछि एक महिनासम्म पर्खेर प्रदेश प्रमुखले मुख्यमन्त्री हटाउने र अर्को मुख्यमन्त्री नियुक्ति गर्ने भन्ने कुरा छ । संविधानमा त्यो व्यवस्था छैन । सर्वोच्चको फैसलामा पनि त्यो व्यवस्था छैन । प्रदेश प्रमुखले त्यो गर्नुभयो भने त्यो कार्यकारी अधिकार हिंजो राजाले प्रयोग गरेको अधिकार जस्तो हुन्छ । त्यो गर्नुहुँदैन भन्ने मेरो भनाइ छ ।’
उनले बहुमतले लेखेर दिएपछि प्रदेश प्रमुखले हटाएर नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुपर्छ भन्ने धारणा एमालेको रहेको दाबी गरे । ‘मेरो हिसावले त्यो मिल्दैन भन्ने हो । संसदबाट अल्पमतमा परिसकेपछि संसदबाटै प्रक्रियासङ्गत ढंगले प्रदेश प्रमुखलाई जानकारी आएपछि वा प्रदेश प्रमुखले आव्हान गरेपछि बहुमत पक्षले दाबी गरेपछि मुख्यमन्त्री नियुक्ति गर्ने बाहेकको अधिकार म देख्दिन,’ राईले भने ।
त्यसबाहेक वर्तमान सरकार हटाउनका लागि बहुमत पक्षले विशेष अधिवेशन बोलाउने, हिंजो समर्थन गर्ने सांसदहरुले हस्ताक्षर गरेर फिर्ता लिने, राजीनामा माग्ने, संसदमा पेश गर्ने र प्रदेश प्रमुखलाई दिने, विशेष अधिवेशन आव्हान गर्न लगाएर त्यसमा दर्ता गर्नेलगायतका सबै काम हुने पनि राईले बताए । तर, त्यसका बाबजुद पनि उपधारा ५ बाट बनेको सरकारले दोस्रो पटक विश्वासको मत लिनेबारे उल्लेख नभएको उनको दाबी छ ।
यही कुरा बुझेर केही दिन अगाडि मुख्यमन्त्री केदार कार्कीले आफूलाई जबर्जस्ती गरे रुक्माङ्गत कटुवाल काण्ड दोहोरिने चेतावनी दिएका थिए । ‘यो सरकार विरूद्ध बलजफ्ती गर्ने र संविधानविपरित केही गर्न खोजिए तत्कालिन प्रधानसेनापति रूक्मांगद कटुबालको घटना दोहोरिने छ,’ मुख्यमन्त्री कार्कीको चेतावनी थियो ।
दिएको चेतावनीको सोझो अर्थ प्रदेश प्रमुख पर्शुराम खापुङ लक्षित रहेको मुख्यमन्त्री निकटस्रोतले बतायो । ‘मुख्यमन्त्रीलाई बर्खास्त गर्ने व्यवस्था संविधानमा छैन । बर्खास्त गरेको मुख्यमन्त्री राष्ट्रपतिबाट थमौति लिएर आए के हुन्छ ?,’ उक्त स्रोतको भनाइ छ ।
उता कोशी प्रदेश एमाले संसदीयद लका नेता तथा पूर्व मुख्यमन्त्रीहिक्मतकुमार कार्कीले प्रदेशको सरकार एक महिनाभित्र स्वतः परिवर्तन हुने बताउँछन् । त्यसका लागि केन्द्रबाट भागबण्डाको टुंगो लागेपछि पहल अगाडि बढ्ने उनको भनाइ छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने सरकार फेरबदलका लागि अहिले हतार नगर्ने बताउँदै आएका छन् ।