मोरङ ।नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले १४ वटै जिल्लाका जिल्ला–नगर उद्योग वाणिज्य सङ्घका कार्यालय सचिवहरूलाई अन्तर प्रदेश भ्रमण थालेको छ ।
शुक्रवार सुरु भएको भ्रमण मधेस प्रदेशको राजधानी जनकपुर हुँदै आइतबार गण्डकी प्रदेशको सदरमुकाम पोखरा पुगेको छ । सङ्घका ३० जना सचिवालय प्रमुखलाई नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश, जनकपुर उद्योग वाणिज्य सङ्घ, मकवानपुर उद्योग वाणिज्य सङ्घ, उद्योग वाणिज्य महासङ्घ बाग्मती प्रदेश मा अध्ययन तथा सिकाई अनुभव आदानप्रदान गरिएको छ ।
जिल्ला–नगर उद्योग वाणिज्य सङ्घका कार्यालय सचिवहरूले मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा र गण्डकी प्रदेशको पोखरासम्म पुगेको अध्ययन तथा सिकाई भ्रमण सम्पन्न गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए । उनले प्रदेश महासंघको स्थापनापछि उनीहरूले गरेका आर्थिक, सामाजिक गतिविधिबारे थाह पाउन भ्रमण भइरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका कार्यकारी निर्देशक प्रदीप दत्तले श्रम समस्या, कर, भ्याट, उद्योगमैत्री नीति बनाउन आफूहरूले सङ्घ र प्रदेश सरकारसँग निरन्तर छलफलमा रहेको जानकारी दिए ।
उद्योग वाणिज्य महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले कोशी प्रदेशका कार्यालय सचिवहरूलाई महासंघको बाग्मती प्रदेशको गतिविधिबारे जानकारी गराउँदै निकट भविष्यमा महासंघको हेटौँडामा आफ्नै भवन बनाउने गृहकार्य भइरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका कार्यकारी सदस्य वीरेन्द्रकुमार साहले कोशी प्रदेशमा महासंघले कामदारलाई तालिम दिएर करिब ६ सय जनालाई उद्योगमा रोजगारी दिलाएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको उक्त भ्रमण मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासङ्घसँग अध्ययन तथा सिकाई भ्रमण चैत २० गते विराटनगर फर्कने छ ।