विराटनगर । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले बुधबार मूल्य सूचना प्रणाली सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेशमा उत्पादन भएका कृषि उपजहरुको बारेमा उत्पादक किसान, व्यावसायी, उपभोक्ताहरुबीचमा सहज सूचना प्रवाह गर्न मूल्य सूचना प्रणाली प्रभावकारी हुने भएकोले पहिलो पटक सुरुवात गरिएको मन्त्रालयले जनाएको छ । उत्पादित उपजको बजार मूल्यको बारेमा जानकारी नपाउँदा किसानहरुले सस्तोमा वस्तु बिक्री गर्नुपर्ने बाध्यता हटाउन सूचना प्रणालीले सहयोग पुग्न सक्ने छ । फरक फरक बजारमा वस्तुको फरक मूल्य हुने भएकोले किसान र व्यापारीहरुले बजार छनौट गर्न सक्ने अवसर पनि यो प्रणाली उपलब्ध गराउने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले बताए ।
बुधबारबाट सुरु भएको प्रणालीमा कोशी प्रदेशका तीन ठूला कृषि बजारहरु बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । तर प्रदेशको राजधानी सहर विराटनगरको कृषि बजार भने मूल्य सूचना प्रणालीमा समावेश भएको छैन । विराटनगर कृषि थोक तथा खुद्रा बजार व्यवस्थापन समितिले आधिकारिकरुपमा वस्तुको मूल्य संकलन गर्ने परिपाटी विकास नगरेका कारण कृषि मूल्य प्रणालीमा समावेश गर्न नसकेको अधिकृत पोखरेलले जानकारी दिए । विराटनगर महानगरपालिकासँग समन्वय गरेर बजार व्यवस्थापन समितिलाई व्यवस्थित गरी सूचना प्रणालीमा समावेश गर्न समन्वय गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
यसबाहेक अरु केही साना कृषि बजारहरुबाट पनि सूचना संकलन गरी नियमित वेवसाइटमा प्रकाशन गरिने कार्यक्रममा जानकारी दिइएको छ । कृषि उपज बिक्रेताहरुको सहजताका लागि प्रणालीमा काठमाडौंको कालिमाटी तरकारी बजारको मूल्य सूचिलाई पनि समावेश गरिएको छ ।
दैनिकरुपमा कृषि उपजहरुको मूल्य सूचि अद्यावधिक गर्न बजारहरुमा सूचना संकलकहरु परिचालन गरिएको र स्वीस सरकारको सहज परियोजनाको सहयोगमा सूचना प्रशोधनकर्तामार्फत नियमितरुपमा मूल्य सूचि अपलोड गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जानकारी दियो । कार्यक्रममा बोल्दै प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रीरामकुमार खत्रीले रियल टाइमको मूल्यका बारेमा जानकारी नपाउँदा किसानले वस्तुको उचित मूल्य पाउन नसकिरहेको विद्यमान अवस्था हटाउन यो प्रणालीको भरपुर सदुपयोग गर्नुपर्ने बताए । तीन तहका सरकारहरु मिलेर किसानहरुलाई उचित सूचना, मल, बिउ, तथा परामर्श आदि सेवाहरु दिँदै कृषि उत्पादन बढाउन लाग्नु पर्नेमा उनले जोड दिए । मन्त्री खत्रीले कृषि उत्पादनबाट मात्रै मुलुकको समृद्धि सम्भव भएको भन्दै आत्मनिर्भर कृषि उत्पादनतर्फ अगाडि बढ्नुको विकल्न नरहेको बताए ।
मन्त्रालयका सचिव लेखराज दाहालले कृषि सूचना प्रणालीलाई निरन्तरता दिँदै परिस्कृत गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे । यसको लाभ सबैभन्दा बढी व्यापारीले र त्यसपछि किसानले लिनुपर्ने उनको भनाइ थियो ।
स्थानीय तहका प्रमुखहरुको पनि उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका अध्यक्ष बलदेवसिंह गोम्देन तामाङले कृषि उत्पादनमा लाग्ने युवाहरु नहुँदा जमिन बाँझिन थालेको अवस्थामा किसानलाई सहयोग पुग्ने र कृषि कर्म गर्दा आत्मसम्मन र स्वाभिमान उँचो बनाउने खालका कार्यक्रम जरुरी रहेको बताए । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललगायतले कृषि मूल्य सूचना प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।