विराटनगर । अपराध रोकथाम र न्युनीकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिकाभित्रका विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ ।
आगामी नयाँ शैक्षिक सत्रदेखि कटहरी गाउँपालिकाभित्रका सामुदायिक र निजी विद्यालयहरुमा उक्त कार्यक्रम सुरू गर्न कटहरी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मोरङ र विद्यालयहरूबीच मंगलबार त्रीपक्षीय समझदारी भएको हो ।
समझदारी पत्रमा कटहरी गाउँपालिकाको तर्फबाट अध्यक्ष देवराज चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङको तर्फबाट मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की र विद्यालयका प्रधानध्यापकहरुले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै मोरङ प्रहरी प्रमुख एसपी कार्कीले स्थानीय तहको विद्यालयमा प्रहरी कार्यक्रमले समाजमा हुने अपराधिक गतिविधि रोकथाम र नियन्त्रणको लागि अभियान सुरु गर्न लागेको बताए ।
यस्तो अभियानले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षाका विविध पाटाहरूका बारेमा सु–सूचित गराउन मद्दत पुग्ने उनले बताए । ‘स्थानीय सरकार–प्रहरी– विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङबाट तयार पारिएको शान्ति सुरक्षाका विविध विषयहरू समेटिएको जनचेतनामूलक प्रशिक्षण सामग्री कटहरी गाँउपालिकासँगको साझेदारीमा उपलब्ध गराइनेछ ।
प्रधानाध्यापकको हैसियतले सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विषयहरू जिल्ला प्रहरी कार्यालयबाट उपलब्ध यस किताब वा अन्य स्रोतहरूबाट समेत खोजी गरी विद्यालयका शिक्षकहरू र अध्ययनरत छात्रछात्राहरूलाई सु–सूचित गर्दै प्रशिक्षण गराउने र त्यसका लागि आवश्यक सहयोग हुन जरुरी छ,’ एसपी कार्कीले भने ।
प्रहरी–समुदाय–स्थानीय तह–विद्यालय र सामाजिक संस्थाहरूबिच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले अपराधरहीत, सुरक्षित, सभ्य र सु–संस्कृत समाज निर्माणका लागि प्रहरी समुदाय स्थानीय तह विद्यालय कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । ‘समाजका संवेदनशील वर्गका रूपमा रहेका बालबालिकाहरूमा समयमा नै सुरक्षा सचेतना बढाइ अपराधको जोखिमबाट बचाउनु र भविष्यका कर्णधार बालबालिकाहरूलाई राष्ट्र र समाजप्रति जिम्मेवार नागरिकको रूपमा विकास गरेर अगाडि बढनु पर्दछ । त्यसको लागि सामुदायसँग प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाएर आर्दश समाज निमार्णमा जोड दिनुपर्दछ,’ अध्यक्ष चौधरीले भने ।
स्थानीय तहमा सुरक्षाको प्रभावकारी समन्वयका लागि प्रहरी कार्यलाई विद्यालय स्तरमा विस्तार गरेर अगाडि बढनुपर्ने उनले बताए । कार्यक्रममा कटहरी गाउँपालिका भित्रको १९ वटा सामुदायिक विद्यालयका प्रअ र निजी विद्यालयका शिक्षकहरुको सहभाििगता थियो ।