सुनकोशीमा बेपत्ता एकको शव भेटियो, अन्यको खोजी गर्दै गोताखोर

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका तीन बालक सुनकोशी नदिमा बेपत्ता भएकोमा एक जनाको शव भेटिएको छ ।

बेपत्ता भएकामध्ये मंगलबार एक जनाको शव फेला परेको हो । धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले जानकारी दिएका छन् ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । बेपत्ता २ बालबालिकालाई सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयबासीलगायतले खोजी गरिरहेका छन् ।

उदयपुर र खोटाङबीचको धाब्लाङस्थित सुनकोसी नदीमा नुहाउन गएका त्रियुगा १४ साउनेकी १२ वर्षीया रेखा मगर, १२ वर्षीय लोकबहादुर मगर र ९ वर्षीय रिदम मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले बताए । उनीहरू होली खेलिसकेपछि घरदेखि ६ किलोमिटर तल धाब्लाङस्थित सुनकोशीमा नुहाउन पुगेका थिए । ८ जनाको समूहमा रहेका उनीहरुमध्ये ५ जनालाई स्थानीयले तत्काल उद्धार गरेपनि तीन जना बेपत्ता भएका थिए ।

वेपत्ता भएलगत्तै स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरी बल ५ नं. हेडक्वाटर त्रियुगाको टोलीले खोजीकार्य जारी राखेको छ । तालिम प्राप्त गोताखोरको सहयोगमा खोजीकार्य भइरहेको त्रियुगा १४ का वडाध्यक्ष हिमराज मगरले जानकारी दिए ।

एकै गाउँका तीन बालबालिका वेपत्ता भएसँगै सिङ्गो साउने बजार स्तब्ध छ । केही दिनअघि सुरू भएको वर्षाको कारण नदीमा पानीको सतह बढेको कारण बालकहरुलाई बगाएको स्थानीयले बताएका छन् ।

मङ्गलबार, १३ चैत, २०८०, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर