विराटनगर । होलीमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० सवारी चालकलाई कारवाही भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तराईमा सोमबार भएको होली पर्वमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० सवारी साधनमाथि कारवाही गरेको जनाएको छ ।
कारवाहीमा परेकामध्ये २ पांग्रे सवारी साधन ८२८ वटा, अटो सिटी ४० वटा र चार पाङ्ग्रे २ वटा छन् । होली मनाउने नाममा मापसे गरेर सवारी साधन चलाइरहेका र ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाहीको दायरामा ल्याएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी डिएसपी सुनिल दाहालले जानकारी दिए ।
कोशी प्रदेशको सबैभन्दा बढी झापामा सवारी साधन कारवाहीमा परेका छन् । झापामा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ४१८ वटा सवारी साधन कारवाहीमा परेको एसपी दहालले बताए । यसैगरी मोरङमा २५६ वटा सवारी साधन कारवाहीमा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।
यसैगरी सुनसरीमा १६३ र उदयपुरमा २४ वटा सवारी साधन कारवाहीमा परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले होली पर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको थियो । होलीमा कोशी प्रदेशमा ४ हजार ८६ं५ प्रहरी परिचालन गरिएको थियो । यस्तै प्रदेशभरीमा ११७ ठाउँमा चेकिङ, मोवाइल गस्ती ९६, पैदल गस्ती १८७, क्यूआरटी ३७८, अनुगमन ३१ र रिजर्भ ३२ रहेको थियो ।
होलीमा सुरक्षा व्यवस्था मजबुत बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा सिसी टिभीबाट पनि निगरानी गरिएको थियो । मोरङमा ३ दर्जन भन्दा बढी स्थानमा संयुक्त चेकिङ राखिएको थियो । होलीलाई मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि प्रहरीले सचेत गराएको थियो ।

