विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले खोला र पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ । वर्षेनी इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो ।
इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाएका छन् । क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल आफैं डोजर लिएर खोला पुगेका थिए । ‘बारम्वार सूचना जारी गर्दा पनि नभत्काएपछि उपमहानगर आफैंले अबैध संरचना भत्काउन सुरु गरेको हो,’ मेयर पौडेलले भने ।
कुनैपनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाइ छ । टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६–६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन सुरु गरेको बताए ।
वर्षाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ । ठूलो पानी पर्दा त इटहरीमा भयावहस्थिति सिर्जना हुने खतरा रहन्छ । जसले गर्दा हरेक बर्षाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् । ‘अब आउँदो बर्षामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउन इटहरी उप–महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको हो,’ मेयर पौडेलले भने ।
इटहरी उपमहानगरपालिकाको ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढी प्रभावित क्षेत्र हुन् । २०७४ मा आएको बाढीका कारण सो क्षेत्रमा ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो । अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको महानगरले जनाएको छ ।
इटहरीमा २०७४ र २०७८ कात्र्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्र्रा खोलाको सतह पुरि दिएको थियो । त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो । यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो । त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो । वि.सं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी नपरेको भएपनि मानववस्तीमा बाढी प्रवेश गरेको थियो ।

