विराटनगर । आज बिहान कोशी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको छ । यस्तै मधेश प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशको एकदुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।
आज कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागको मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ ।
हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

