विराटनगर । असत्यमाथि सत्यको विजय तथा सामाजिक सदभाव बढाउने हर्ष र रंगको पर्वको रुपमा मनाइने होलीको रौनकता सर्वत्र छाएको छ । एक अर्काको बिचमा रहेको पुरानो मनमुटावलाई समाप्त गरी समाजमा सद्भाव र आपसी प्रेम बढाउने प्रतीकको रुपमा तराई मधेशमा होली मनाइन्छ ।
आइतबार पहाडी जिल्लाहरुमा र सोमबार तराईमधेशमा होली मनाउने परम्परा छ । तर यस वर्ष होलीको मौलिकता अझ व्यापक रुपमा स्थापना गर्न मधेश प्रदेशमा मङलबारसमेत होली मनाउने तय भएको छ । पहाडमा होली खेलेर होलीका दहन गर्ने र मिथिलामा होलीका दहन गरेर होली खेल्ने परम्परा रहेकोले नेपालमा दुई दिन होली पर्व हुने गरेको छ । पहाडी जिल्लाहरुमा आइतबार नै भब्यतापूर्वक होली मनाइएको छ भने आज सोमबार तराईमधेशमा होली मनाइँदै छ । आइतबार साँझ तराई मधेशमा होलीका दहन हुने पण्डित महेन्द्रनारायण ठाकुरले बताए ।
फागुको दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ । पहिले गाउँघरमा दुध र मसलामिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो । होलीमा भाङलाई अहिले मदिराले विस्थापित गरेको छ ।
तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ ।
फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । होलीमा रङ्ग र अबिरसँगै धूलो पनि उडाइन्छ । प्राध्यापक परमेश्वर कापडीले रङ्ग अबिरको खेलसँगै धुरखेल (धुलो उडाउने खेल) पनि मिथिलामा हुन्छ ।’ विसंगतिहरुलाई उडाउँदै नयाँ वर्षको सुखद् शुभारम्भ होलीको दिनबाट हुन्छ ।
होलीले समाजमा आपसी रिस, द्वेष र वैमनस्यताहरूलाई बिर्साएर सद्भाव र मेलमिलापका साथ अगाडि बढाउने मान्यता छ । होली प्रारम्भ भएदेखि गाइने गीत र होली सकिएपछि गाइने गीतमा धेरै भिन्नता देखिन्छ । डा. रेवतीरमण लालले होलीमा होलिका दहनको कुनै प्रसंग नरहेको बताउँछन् । उनले भने, “होलिका दहनको खुशियाली मनाउन होली खेलिएको होइन । होलीमा होलिकारूपी विकृतीको दहन गरिने भनिएपनि यो कहिलेदेखि फागुमा जोडियो, त्यसको यकिन छैन ।’
आधुनिकताको विकाससँगै मधेशका युवाशक्तिले परम्परागत रुपमा मिथिलाको लोक सस्कृतिसँग जोडिएको होली पर्वप्रति आकर्षण नहुँदा रौनकतामा कमी आएको छ । पछिल्लो समय शहरी क्षेत्रमा पनि होलीको मौलिक परम्परा स्थापीत गर्न र युवा पुस्तालाई त्यस तर्फ आकर्षीत विभिन्न कार्यक्रम गर्ने गरेको पाइएको छ ।, मिथिला संस्कृति संरक्षण तथा प्रवद्र्धनमा संक्रियताका साथ लागेको विराटनगरका प्रविणनारायण चौधरीले होलीको मौलिक परम्परा स्थापना गर्न युवा पुस्तालाई त्यस त्यसतर्फ आकर्षण गर्नुको विकल्प नभएको बताए ।
बसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँटोल, छिमेकमा गाइने माधुर्यता र प्रेमभावपूर्ण होली गीत गाउने चलन हराउन थालेका छन् । तर होली नजिकिदै जाँदा समाजका अगुवाहरुले दसई दिनदेखि होली गाउन थालेका छन् । मिथिला समाज गृहस्थी अर्थात कृर्षि पेसामा अधारित रहेकाले संस्कृतिको परिवेशसमेत त्यही अनुकुल नै रहेकाले पहेरदारी गरेर अघि बढ्नु पर्ने छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।