विराटनगर । पूर्वजनप्रतिनिधिहरुले थोपरेको बेथिति सुधार गर्न खोज्दा काँग्रेसका जिल्ला नेताहरुले आफूमाथि झुटो आरोप लगाएको भन्दै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी उल्टै आफ्नै नेताहरुविरुद्ध खनिएका छन् ।
कर्मचारीको सरुवा र बढुवामा अध्यक्ष चौधरीले मनपरी गरेको भन्दै काँग्रेस नेताहरुले सार्वजनिक टिप्पणी र विरोध गरेपछि आइतबार अध्यक्ष चौधरीले पत्रकार सम्मेलन आयोजना गरी काँग्रेसका पूर्व जनप्रतिनिधिहरुले बसाएको बेथिति सुधार गर्न खोज्दा आफूमाथि अनर्गल आरोप लगाउने प्रयत्न भएको बताए । पत्रकार सम्मेलनमा उनी आफूलाई लागेको आरोपको खण्डन गर्दै आरोप लगाउने काँग्रेस नेताहरुविरुद्ध नै खनिएका थिए ।
आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको भन्दै उनले झुटो आरोप लगाउनेहरुमै कमजोरी रहेको भन्दै पार्टीले उनीहरुमाथि कारवाही गर्नु पर्ने मागसमेत गरे ।
केहि दिनअघि नेपाली काँग्रेसका मोरङका कार्यवाहक सभापति भक्ति माझी, क्षेत्रीय सभापति विनोद बस्नेत, जिल्ला सदस्य गोपाल साहलगायतकाले नेपाली काँग्रेसको उम्मेदवार भई कटहरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि चौधरीले पार्टीका नेताहरुलाई बेवास्ता गरेको र उनीहरुको कामलाई असहयोग गरेको भन्दै पार्टीले कारवाही गर्नुपर्ने माग गरेका थिए ।
यता गाउँपालिका अध्यक्ष चौधरीले भने स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८४को उपदफा २ (छ) बमोजिम आफ्नो कार्यक्षेत्रभित्र रहेर प्रशासनिक काम गर्दे आएको बताए ।
विकासका कामहरुलाई कार्यपालितका बैठकबाट सर्वसम्मत निणय गराएर काम गर्ने पद्दतिलाई पछिल्लो समय अवलम्बन गरेको भन्दै उनले अनावश्यक केही नेताहरुले पालिकाको काममा हस्तक्षेप गर्ने प्रयत्न गरेको बताए । उनले गाउँपालिकाको कामलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने भन्दै कुनै पनि प्रकारको हस्तक्षेपलाई आफूले अस्वीकार गर्ने बताए । उनले अनावश्यक आरोप र लान्छना लगाउने पार्टीका केही नेतामाथि छानविन गरेर पार्टीले कारवाही गर्नुपर्ने बताए ।
नेपाली काँग्रेस कटहरी २ का सभापति सञ्जय मण्डलले लोहन्द्र खोलाबाट अवैध उत्खनन् गरी नदीजन्य स्रोत दुरुपयोग गरिरहेको स्थानीयको गुनासो पछि अध्यक्ष चौधरीको नेतृत्वमा प्राविधिकसहतिको टोलीले केही दिनअघि अनुगमन गरेको थियो । त्यस क्रममा अनधिकृतरुपमा खोलामा हेभी इक्विपमेन्ट प्रयोग गरेको पाइएपछि अनुगमन टोलीले उपकरणहरु नियन्त्रणमा लिएको थियो । दैनिक ठूलो परिमाणमा अवैध उत्खनन् गरेका कारण कटहरीको चतारी घाट र सतार बस्तीका २०० बढी घरपरिवार उच्च जोखिममा परेको निश्कर्ष निकाल्दै ठेकेदारमाथि कारवाही अगाडि बढाएका थिए । खोला उत्खनन् गर्ने व्यक्तिको पक्षमा लागेर काँग्रेस नेताहरुले गाउँपालिका अध्यक्ष चौधरीमाथि विभिन्न आरोपहरु लगाएको उनको बुझाइ छ ।
चौधरीले कर्मचारी भर्नामा अनियमितता गरेको भन्ने आरोपको पनि खण्डन गरेका थिए । उनले योग्यता प्रणालीमा आधारित खुला र समावेशी सिद्धान्तको अवलम्बन गरी प्रतिस्पर्धात्मक विधिवाट कर्मचारी छनोट गरिरहेको र प्रतिर्धात्मक परीक्षा योग्य ठहरिएका अब्बल उम्मेदवार मात्र छानिएको भन्दै आरोपमा सत्यता नरहेको बताए ।
शिक्षक हटाएको विषयमा आफूलाई आरोप लगाउने खोजिएको भन्दै स्वयं शिक्षकहरुको तर्फबाट कुनै गुनासो नआएको तर पार्टीका नेताहरु त्यसमा अगाडि सरेर आरोप लगाउन खोजेको अध्यक्ष चौधरीले बताए ।
नेपाली काग्रेसका कटहरी गाउँपालिका उपसभापति गोकुल भटटराईसँग भ्रमणलाई लिएर आर्थिक सहयोग मागेको भन्ने आरोपले व्यक्तिगत चरित्र हत्या गर्न खोजेको भन्दै उनी आक्रोशित भए । ‘मैले उनको भाइको जागिर खाइदिने कुनै अभिव्यक्ति दिएको छैन् । गाउँपालिकामा कार्यरत कर्मचारीलाई केवल कर्मचारीको रुपमा मात्रै हेरेर व्यवहार गरिएको छ कुनै पूर्वाग्रह राखिएको छैन र त्यसअनुसार सरुवा गरिएको पनि छैन ।’
काग्रेसकै पूर्व जनप्रतिनिधिहरुले गाउँपालिकामा सिर्जना गरेको बेथितिलाई नियन्त्रणमा गरेर जनचाहनाअनुसार काम गर्दा आफ्ना पार्टीका नेता अगुवा नेतालाई तनाव भएको बताए । उनले अधारहित र तथ्यहीन आरोपमा कारवाहीको माग गर्नेलाई नै पार्टीले तत्काल कारवाही गरिने सुनाए । निर्वाचनको बेला अर्को पार्टीका उम्मेदारलाई खुल्लखुल्ला सहयोग गर्ने हिड्न पूर्व गाउँपालिका अध्यक्ष रामकुमार कामतलाईसमेत पार्टीले कारवाही गर्नु पर्ने बताए ।
गाउँपालिकाका सवैकाम कार्यपालिकाका बैठकले गर्ने गरेको निर्णय अनुसार गरेकाले आफ्ना लोकप्रियतालाई पचाउन नसक्नेले हावदारी कुरा गरेर आफूलाई विकासको काम गर्नबाट नरोक्ने उनले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।