कोशीमा फागुन मसान्तसम्म तीस प्रतिशत मात्र बजेट खर्च

पुँजीगत खर्च भने २२ प्रतिशतमा सीमित, चालू खर्च ४१ प्रतिशत

विराटनगर । चालु आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कोशी प्रदेश सरकारले ३० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीले गत चैत ३ गतेसम्म ३० प्रतिशत मात्र खर्च गरेको हो ।

कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार पुँजीगत बजेट खर्चभने२२ प्रतिशतमा सीमित रहेको छ । प्रदेशमा आठ महिनामा चालुतर्फ ४१ प्रतिशत बजेट भएको छ ।

प्रदेश सरकारले चालु वर्षमा ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । हालसम्ममा पूँजीगततर्फ ४ अर्ब ६० करोड ७८ लाख ७ हजार ५८१ रुपैयाँ खर्च भएको छ । यस्तै चालु तर्फ भने ७ अर्ब ७५ करोड ३४ लाख ६७ हजार ९०२ रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारको हालसम्मको जम्मा खर्च भने ११ अर्ब ३६ करोड १२ लाख ७५ हजार ४८४ रुपैयाँ रहेको छ ।

सरकारले चालूतर्फ १६ अर्ब ३९ करोड ६९ लाख ९२ हजार र पूँजीगत तर्फ २० अर्ब ४१ करोड २० लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारको आम्दानी भने हालसम्म ५२.५३ प्रतिशत अर्थात् १९ अर्ब ३० करोड ४८ लाख ४३ हजार ५१८ रुपैयाँ रहेको छ । प्रदेश सरकारले बजेट खर्च लक्ष्य अनुसार गर्न नसक्दा संचित खातामा ७ अर्ब ९४ करोड ३५ लाख ६८ हजार ३४ रुपैयाँ थुप्रिएर बसेको छ ।

सोमबार, १२ चैत, २०८०, बिहानको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर