लोड हुँदैछ...

मेनु

होलीमा सुरक्षा

होलीको लागि पाँच हजार सुरक्षाकर्मी परिचालन

होलीको लागि पाँच हजार सुरक्षाकर्मी परिचालन

विराटनगर । प्रहरीले होली पर्वलाई सुरक्षित बनाउन झण्डै पाँच हजार जनशक्ति परिचालन गरेको छ । सुरक्षा व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन विशेष सतर्कतासहित जनशक्ति परिचालन गरेको हो ।

प्रदेश राजधानी विराटनगरको सुरक्षा व्यवस्था प्रहरीले कडा बनाएको छ । होली पर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रण गर्न र सडक दुर्घटनालाई न्युनीकरण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

सोमवार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।
होलीमा कोशी प्रदेशमा ४ हजार ८६ं५ प्रहरी परिचालन गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । प्रदेशभरिमा ११७ ठाउँमा चेकिङ, मोवाइल गस्ती ९६, पैदल गस्ती १८७, क्यूआरटी ३७८, अनुगमन ३१, रिजर्भ ३२ रहने एसपी तिम्सिनाले बताए ।

होलीमा सुरक्षा व्यवस्था मजबुत बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा सिसी टिभिबाट पनि निगरानी गर्ने भएको छ । मोरङ प्रहरीले होलीविशेष सुरक्षा योजना बनाइ कार्यान्वयन गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरे । उनका अनुसार विराटनगरमा मात्र ७०० बढी प्रहरी परिचालन गर्ने उनले बताए । तीन दर्जन भन्दा बढि स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ । सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा सिसि टिभीबाट निगरानी गर्ने प्रबन्ध गरिएको छ ।

होलीलाई मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि प्रहरीले सचेत गराएको उनले बताए । ‘होली पर्व आम नेपालीहरुको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व हो । त्यसकारण शान्तिपूर्ण र एकअर्काप्रति सम्मान भावसहित होली पर्व मनाउन आग्रह गरेका छौँ,’ उनले भने, ‘प्रहरीले देशभरि त्यहीअनुसार सुरक्षा व्यवस्था गरेको छ । विराटनगरमा पनि हामीले विशेष सुरक्षा व्यवस्था लागू गरेका छौँ ।’

उनले सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढंगले होली पर्व मनाउन आग्रह गरे । ‘होलीमा मदिरा सेवन गरी सवारी चलाउने गरेको पाइन्छ । झै–झगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जान सक्ने अवस्थासमेत हुन्छ,’ उनले भने, ‘त्यसकारण विराटनगरमा तीन दर्जन भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ । जसले सम्भवित घटनाहरुलाई न्युनीकरण गर्दछ ।’

होलीमा उच्छृंखल गतिविधि नियन्त्रण गर्न विराटनगरमा सुरक्षाकर्मी खटिने उनले बताए । ट्राफिक कार्यालयबाट मात्रै दुई सय बढी हाराहारीमा सुरक्षाकर्मी खटिनेछन् । होलीलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन विराटनगरमा ट्राफिक प्रहरी खटाउने प्रहरीले जनाएको छ ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, मोटरबाइकमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि विशेष निगरानी हुने प्रहरीले जनाएको छ । अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिनेछ ।
विशेष गरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमतिविपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्नेलगायत गतिविधि गर्नेलाईसमेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने एसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।