प्रहरीको नयाँ प्रमुख आएपछि किन बढ्छ फूर्तीफार्ती ?

  विक्रम लुइँटेल

विराटनगरमा रहेर पत्रकारीतासँग जोडिएको अढाइ दशक बितेको छ । निरन्तर पत्रकारीतमा सक्रिय रहँदा अनेकन दृश्यहरुलाई अवलोकन गर्दै आएको छु । समाचारको लेखनशैली र रिपोर्टिङको तरिका फेरिएका छन् । समचारहरुमा नयाँ आयामका अभ्यासहरु भइरहेका छन् ।

समाचार पनि विषयवस्तुमा केन्द्रित रहेर बिट तय हुँदै लेख्ने समूह तयार हुँदैछ । तर, मोफसलमा अझै पनि एउटा पत्रकारले सबै विषयमा समाचार लेख्नपरेको छ । व्यवस्था परिवर्तन भएपछि त्यसभित्र रहेका नयाँ संरचना र त्यसको प्रभाव साथै अन्य विषयवस्तुहरुमा नयाँ ढंगले रिपोर्टिङ भइरहेको छ । तर, एउटा विषय भने सधैँभरि उही तरिकाले उस्तै विषयमा समाचार लेख्न परिरहेको छ । त्यो भनेको प्रहरी कार्यालयको हाकिम परिवर्तन र उनले अभिव्यक्त गर्ने विचार ।

मोरङमा हरेक सालजसो प्रहरी प्रमुख परिवर्तन हुन्छन् । प्रहरीको क्षेत्रीय कार्यालय भनौं या अहिलेको प्रदेश प्रहरी कार्यालयमासमेत वर्षेनी प्रमुख फेरिन्छन् । उनीहरु परिवर्तन भएर आउँदाको हल्लाखल्ला भने एउटै हुन्छ । कसैले म अनियमितता गर्दिन, गर्नेलाई पनि छाड्दिन भन्छन् । कसैले प्रहरीको घुमुवा हटाइदिन्छु र घुमुवा मार्फत उठाउदिन । कसैले बोर्डर कडा गरिन्छ, तस्करी हुन दिन्न भन्छन् । अलिक अगाडि प्रहरी हाकिम नयाँ आएको थाहा होटल रेष्टुरेन्टमा छापामारेपछि थाहा हुने गरेको थियो । अहिले म यस्तो गर्दिन, उस्तो गर्दिन भन्दै गर्जिन्छन् । तर, उनीहरु गएपछि चर्चा हुन्छ । फलानोले त यति लगो अरे, उसले त लैजानै सकेन, फलानो त इमान्दर भएकोले एउटा गाडी मात्र लगे अरे भन्ने जस्ता अनगिन्ती किस्साहरु सुनेर, लेखेर हिंडेको धेरै भयो ।

अहिले मोरङमा पनि नयाँ प्रहरी उपरीक्षक आएका छन् । त्यस्तै प्रदेश प्रहरी कार्यालयमा पनि नयाँ प्रहरी नायव महानिरीक्षक आएका छन् । तर, मोरङमा आउनेबित्तिकै प्रहरी उपरीक्षकले यसअघिका एसपीले राखेका सादा पोशाकका प्रहरी हटाए । त्यसपछि उनले पत्रकार सम्मेलनमा भने, ‘कुनै पनि घटना बाहेक सादा पोशकको प्रहरी नराख्ने प्रतिबद्धता जनाए ।’ यसको मतलव अघिल्ला प्रहरी प्रमुखले सादा पोशाकका प्रहरी खटाएर के गरे भन्ने कुरा खोज्न जरुरी छ ।अघिका कार्यालय प्रमुखको गतिविधिलाई चुनौती दिनेगरी आएका अभिव्यक्ति चासोमूलक नै छ । मैले माथिदेखि नै उठाइरहेको विषय के हो भने प्रहरी प्रमुखहरु फेरिदा उनको शैली र सेवा प्रवाहका विषयमा जसरी चर्चा हुन्छ आखिर त्यो किन भइरहेको छ ?

चेकजाँच तीव्र हुने, अपराधीहरु पक्राउ गर्न सक्रिय हुने र समय बित्दै जाँदा सुरुवाती गतिविधीहरु कम हँुदै जाने विगतको तीतो यथार्थ हो । सुरुमा नेताहरुको कुरा कम सुन्ने र पछि विस्तारै त्यो पनि सुन्दै जाने अनावश्यक दबाबमा काम गरिदिने अवस्था देखिदै आएको छ । अपवाद बाहेक प्रहरी प्रमुखको सुरुवाती फुर्तिफार्ती अन्तिममा सेलाउदै जाने विषय सोचनीय छ । सुरु र अन्त्य उही लयमा हुन सक्यो भने मात्र प्रहरीको ओज बढ्ने हो । हुन त विगतका वर्षहरु भन्दा प्रहरीको पारदर्शिता, जवाफदेहितामा अहिले सुधार हँुदै आएको छ । प्रहरीका आचरण र व्यवहारहरु पनि सुधारोन्मुख छन् । दश वर्ष अघिको प्रहरी र अहिलेको प्रहरीमा धेरै नै फरक पाउँछौं । तर, यत्ति कुरा हो कि सुरुवाती उत्साह अन्तिमसम्म रहनुपर्छ । न कि प्रहरीको सुरुवातीको फुर्तिफार्ती आफ्नो दुनो सोझ्याउने हतियार बन्नु हुँदैन । अहिले मोरङमा आएका प्रहरी प्रमुख र अन्य कार्यालयका प्रहरी प्रमुखलाई पनि यति शुभकामना छ कि फुर्तीफार्ती सधैँ उस्तै रहोस् ।

शुक्रबार, ०२ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर