कोशी प्रदेशको पर्यटन मन्त्रालयले उदयपुरमा होमस्टे सम्मेलन गर्दै

विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दुई दिने होमस्टे सम्मेलन हुने भएको छ । पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवद्र्धन शाखाको आयोजनामा प्रदशेमै पहिलोपटक होमस्टे सम्मेलन हुन लागेको हो ।

फागुन २९ गते र ३० गते उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबासस्थित दनुवार सामुदायिक भवनमा हुन लागेको हो । होमस्टे सम्मेलनको तयारी तीव्र पारिएको पर्यटन प्रवर्द्धन शाखाका अधिकृत हेमराज अर्यालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा प्रदेशभरिका एक सय पाँचवटा निजी तथा सामुदायिक होमस्टेका प्रतिनिधिहरू सहभागी हुने छन् । होमस्टेलाई आफ्ना मौलिक खानाको प्रवर्द्धन गर्नमिल्ने गरी १३ वटा स्टलसमेत तयार पारिएको अधिकृत अर्यालले जनाए ।

‘हामीले होमस्टे सञ्चालनको तयारी तीव्र पारेका छौं, यो सम्मेलनमा होमस्टे सञ्चालकले निःशुल्क रूपमा सहभागिता जनाउन सक्नुहुनेछ,’ उनले भने । पर्यटन मन्त्रालयले विनियोजन गरेको १० लाख बजेटबाट आयोजना हुन लागेको सम्मेलनमा होमस्टे सञ्चालकले आफ्ना मौलिक खानपानका बारेमा प्रस्तुति राख्न पाउने छन् । होमस्टे महासंघ, कोशी प्रदेशसँगको समन्वयमा र प्रदेशका दुई पर्यटन कार्यालयको सहजीकरणमा उक्त सम्मेलन हुन लागेको हो । पर्यटन कार्यालय, धरान र पर्यटन कार्यालय, काँकडभिट्टाले सम्मेलनमा आवश्यक सहजीकरण गर्नेछ । सम्मेलनमा होमस्टे व्यावसायीबीच चिनजान, छलफल र अन्तरक्रिया हुनेछ । त्यसबाहेक थारू समुदाय र दनुवार समुदायले सांस्कृतिक कार्यक्रम आयोजना गरी सम्मेलनलाई थप आकर्षित बनाउने छन् ।

यस्तै, होमस्टे व्यवसायबारे कानुनी र व्यावसायिक जानकारी दिन प्रदेशस्तरीय होमस्टे ‘बुकलेट’ पनि सार्वजनिक हुनेछ । सम्मेलनको उद्घाटन पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले गर्नेछन् । मन्त्रालयका सचिव विशाल घिमिरेको अध्यक्षतामा हुने सम्मेलनमा प्रदेशसभा उपसभामुख सिर्जना दनुवारसहित प्रदेश सांसदको उपस्थित रहने छन् ।

होमस्टे सञ्चालकहरूबीच अन्तरक्रिया होस् र त्यसले पर्यटन प्रवर्धनमा पनि टेवा पुगोस् भन्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न आँटिएको मन्त्री उप्रेतीले जानकारी दिए । ‘प्रदेशभरिका होमस्टे व्यावसायीबीच चिनजान र अन्तरक्रिया गराउने लक्ष्यसाथ सम्मेलन गर्न लागेका हौं,’ उनले भने, ‘होमस्टेको नेटवर्क अझ बढाएर पर्यटन प्रवर्द्धनमा कसरी टेवा पु¥याउन सकिन्छ विषयमा व्यापक छलफल हुनेछ ।’ कोशी प्रदेशमा एक सय पाँच होमस्टे सञ्चालनमा छन् ।

शनिबार, २६ फागुन, २०८०, रातीको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर