विराटनगर । बायाँ खुट्टामा क्यान्सर भएका एक जना क्यान्सर पीडित बिरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेश कुमार साहका परिवारले उपचारको लागि सहयोगको याचना गरेका हुन् ।
साहको बायाँ खुट्टाको घुँडामा क्यान्सर भएको छ । क्यान्सर भएपछि उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेको छ । उपचार गर्दा उनको परिवारको ८ लाख रुपैयाँ सकिएको छ । खुट्टाको शल्यक्रिया गर्न थप आठ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको छ । आर्थिक विपन्न परिवारका साह परिवारसँग भएको पैसा छोराको उपचारमा सकिएपछि थप उपचारको लागि आर्थिक अभाव भएको बाबु वीरेन्द्र कुमार साहले बताए । ‘छोराको उपचारमा ८ लाख रुपैयाँ सकियो । दुई कट्ठा खेतीयोग्य जमिन बेचे ।
त्यसले नपुगेपछि आफन्त र छरछिमेकसँग ऋण पान गरेर आफूले भ्याएसम्म उपचार गरे । अब शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । त्यसको लागि थप आठ लाख रुपैयाँ लाग्ने अस्पतालले भनेको छ,’ बाबु वीरेन्द्रले भने, ‘अहिलेसम्म ६ लाख रुपैयाँ सहयोग प्राप्त भयो । मनकारी व्यक्ति र संघसंस्थाहरुबाट सहयोग पनि जुट्यो । अब दुई लाख रुपैयाँ जम्मा गर्न सकिए छोराको शल्यक्रिया हुने थियो ।’ थप दुई लाख रुपैयाँ अभावको कारणले अहिले छोराको उपचार हुन रोकिएको उनले सुनाए । छोराको सहयोगको लागि उनले अपिल गरेका छन् । उनको समर्पक नम्बर ९८११०३८०३४ रहेको छ । प्राइम बैङ्कको ०४२०१००००००३१२१०१६३७ खाता नम्बर रहेको छ ।
तेली समाजद्वारा ५१ हजार सहयोग
तेली कल्याण समाजले क्यान्सर पीडित नरेश कुमार साहलाई आर्थिक सहयोग गरेको छ । समाजले मङ्गलवार ५१ हजार रुपैयाँ नगद सहयोग गरेको हो । ५१ हजार मध्ये २१ हजार रुपैयाँ तेली कल्याण समाज विराटनगर १२ ले सहयोग गरेको थियो । नरेश कुमार साहका बाबु वीरेन्द्रलाई तेली कल्याण समाजका मोरङका अध्यक्ष डा। बालकृष्ण साह, कोषाध्यक्ष रोहित कुमार साह, विराटनगर महानगर अध्यक्ष सञ्जय साहको उपस्थिति आर्थिक सहयोग गरेका छन् ।
गत असारमा साहको खुट्टामा क्यान्सर भएको पत्ता लागेको थियो ।