विराटनगर । प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुर सिमेन्ट उद्योग पूर्णरुपमा सञ्चालन गर्ने बताएका छन् ।
उदयपुरको त्रियुगामा रहेको उद्योगको आज निरीक्षण गर्दै प्रधानमनत्री प्रचण्डले उद्योगलाई बचाउने र पुर्ण क्षमतामा सञ्चालन गर्ने विषयमा सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उदयपुरमा सिमेन्टका लागि आवश्यक पर्ने चुनढुङ्गा पर्याप्त रहेको र हालसम्म १५ प्रतिशत मात्र प्रयोग भएकोले उद्योग सञ्चालनको मुल पूँजी त्यहि भएको प्रधानमन्त्रीको भनाइ छ । खानीबाट उद्योगसम्म चुनढुङ्गा ल्याउन बनाइएको रोपवे महत्त्वपूर्ण पूर्वाधार रहेको भन्दै उनले उद्योगको मेसिनरी अपग्रेड गर्दै सञ्चालन गर्न सरकारले पहल लिने बताए ।
प्रधानमन्त्री प्रचण्डले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताएका हुन् । उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए ।
त्रियुगा नगरपालिका ६ जलजलेमा उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकनको क्रममा उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।