लोड हुँदैछ...

मेनु

दुई थान सुनको रिङको लागि दिलकुमारीको हत्या !

दुई थान सुनको रिङको लागि दिलकुमारीको हत्या !

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारेमा गत माघ ६ गते मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या उनले कानमा लगाएको सुनको रिङ प्रमुख कारण रहेको प्रहरीले पत्ता लगाएको छ ।

संखुवासभा प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार तुम्लिङटारस्थित मंगलबारमा रहेको एसएसएफएम प्रालिको कम्पाउण्ड बाहिर स्थानीय ६२ वर्षीय दिलकुमारी घिमिरेको शव मृत अवस्थामा फेला परेको थियो । उक्त हत्याको अनुसन्धानको क्रममा दाउरा भेला पार्ने क्रममा जरासहितको रुखको ठुटा अचानक पल्टिँदा उक्त रुखको ठुटाले दिलकुमारी घिमिरेको टाउकोमा लागेर मृत्यु भएको भन्दै मृतककै छोरा शुभाष घिमिरेले जाहेरी दिएका थिए ।

तर, प्रहरीले भने घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बञ्चरो र मृतकले प्रयोग गर्ने मोवाइल तथा मृतकले पैसा राख्न प्रयोग गरेको थैली फेला पारेको थियो । घटना शंकास्पद देखेपछि प्रहरीले गरेको अनुसन्धानले सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षका दिपेन राई भन्ने आकास राईलाई माघ ११ गते पक्राउ परेको छ । उनलाई प्रहरीले धरान–२ देशीलाईनस्थित एक गेष्टहाउसबाट पक्राउ गरेको हो । राई केही महिनादेखि खाँदबारी तुम्लिङटार बजारक्षेत्रमा कोठा बहाल लिई ज्याला मजदुरी गर्दै आएका थिए ।

‘अनुसन्धानको क्रममा दिपेन भन्ने आकाश राईले दिल कुमारी घिमिरेलाई बञ्चरो प्रहार गरी कर्तव्य गरी मारी निज मृतकले कानमा लगाएको २ थान सुनको रिङ जस्तो देखिने धातु डाँका चोरी गरी आफ्नो साथमा लिई गई धनकुटाको पाख्रीवास–४ बुद्धचोकमा रहेको रुपकला ज्वेलर्समा ४७ हजारमा विक्री गरेको खुलेको छ,’ संखुवासभा प्रहरीका सूचना समन्वय अधिकृत अशोक कुमार जबेगूले भने, ‘उक्त ज्वेलर्सकी संचालक ३६ वर्षीय धनमाया विश्वकर्माले पनि आफ्ना देवर पर्ने देवबहादुर विश्वकर्मालाई ५८ हजारमा विक्री गरेको थाहा भएको छ ।’

प्रहरीले दिलमायाले लगाएको उक्त सुनको रिङ दिेवबहादुरको विवेक ज्वेलरीबाट बरामद गर्नुको सादै देवबहादुर र धनमायालाई पनि पक्राउ गरेको जनाएको छ । ‘दिपेन भन्ने आकाश राईले कर्तव्य ज्यान र चोरी÷डाँका सम्बन्धी कसूर मुद्दामा तथा सुनको रिङ खरिद गर्ने कार्यमा संलग्न दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको छ,’ जबेगूले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।