विराटनगर । राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार सहकर्मी दलहरुसँग छलफल गरेर आइतबार साँझ वा सोमबारसम्ममा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी गरिरहेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार काँग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रबाट भने एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा संखुवासभाका राजेन्द्र कार्की नियुक्त हुने माओवादी स्रोतले बतायो ।

मुख्यमन्त्री कार्कीले माओवादीबाट तत्कालका लागि एक जना मात्रै मन्त्री थप गर्ने योजनामा छन् । तर, माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । पछिल्लो समय राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्पmबाट माओवादी उम्मेदवारलाई हराइएको घटनापछि आक्रोशित भएको माओवादीलाई सन्तुलनमा राख्न पनि मुख्यमन्त्री कार्की दुई जना मन्त्री नियुक्त गर्नुपर्ने दबाबमा परेका छन् । यसअघि मुख्यमन्त्रीसँग भएको छलफलमा खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय माओवादीलाई दिने सहमति भइसकेको छ । माओवादीबाट थप दुई मन्त्री नियुक्त गर्दा सामाजिक विकास मन्त्रालय उसले पाउनेले स्रोतले बताएको छ ।

यस्तै काँग्रेसले अब उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना मन्त्रालय लिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय जसपालाई दिन मुख्यमन्त्री तयार भएपनि जसपाले भने तत्काल सरकारमा नजाने बताउँदै आएको छ । त्यस्तो परिस्थितिमा काँग्रेसले रामकुमार खत्रीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने र प्रदिपकुमार सुनुवारलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीको छ । थापालाई भने तत्कालका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री बनाउने कार्कीको तयारी छ ।

हाल काँग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन् ।

काँग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २७ गते नियुक्त भएर २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र काँग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिए । उनलाई राप्रपाका ६ सांसद बाहेक सबैले विश्वासको मत दिएका थिए । आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिनपछि कार्कीले कात्तिक १७ गते माओवादीबाट गणेशप्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमल प्रसाद जबगूलाई मन्त्री पदमा नियुक्त गरे । उनीहरुलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए ।

एमालेबाट मगरले राजीनामा दिएसँगै मन्त्रीमण्डल चार सदस्यमा सीमित भयो । नियुक्त भएका मन्त्रीहरु राई, जबेगू र उप्रेतीले पनि लामो समय बिना विभागीय बस्नु परेको थियो । कार्कीले उनीहरुलाई मंसिर १७ गते जिम्मेवारी दिए । जसअनुसार राई सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन, जबेगूलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।