विराटनगर । नेप्से परिसूचक निरन्तर चार कारोबार दिन घटेर पुनः २१०० विन्दुभन्दा तल झरेको छ । पछिल्ला ५ कारोबार दिनदेखि २१०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से सोमबार सो विन्दुभन्दा तल झरेको हो ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३१.४९ अंक घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ । त्यसैगरी, यसदिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको १ लाख ५० हजार पटकको कारोबारमा ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
सोमबार अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने आशा लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ८.३३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ३१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको कारोबार रकम २४ करोड नाघेको छ ।
बजारका १३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यसदिन सो उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको हो । कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२४ प्रतिशत घटेको छ । यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।