जालझेलको प्रयासमा कोशी अस्पताल, कर्मचारी नियुक्ति गर्न मनपरी मापदण्ड

–नर्सिङ अधिकृत र बायोमेडिकल टेक्निसियनमा आफ्नो मान्छे नियुक्त गर्न विकास समितिको चलखेल –अध्यक्ष सिलवाल भन्छन् ‘खुला प्रतिस्पर्धा गर्दा आर्थिक चलखेल हुने भएकोले त्यसलाई रोक्न विज्ञापन गरिएन’

विराटनगर  । विराटनगरस्थित कोशी अस्पतालमा विकास समितिले आफू निकटका व्यक्तिलाई नियुक्ति दिने नियतले अनुकूलको मापदण्ड तयार गरि कर्मचारी पदपूर्तिको सूचना माग गरेको पाइएको छ ।अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक कर्मचारी गरी ५० जना नियुक्तिगर्न सूचना निकालेको छ । तर परीक्षाको मापदण्ड भने असमानढंगले तोकिएको छ ।

तीन महिनाको सेवा करार रहने गरी ४ माघमा जारी गरेको सूचनामा अस्पताल विकास समितिले मनपरी मापदण्ड तयार पारी सूचना जारी गरेको हो । केही महिना अगाडि अस्पताल विकास समितिले १२३ जना अस्थायी पद सिजर्ना गर्दै थप दरबन्दी माग गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास समितिको माग भन्दा कम ५० जनाको दरबन्दी मात्र स्वीकृत गरिदिएको थियो । ५० जनाको अस्थायी दरबन्दी स्वीकृत भएपछि अस्पतालले आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको एक जना नर्सिङ अफिसर, पाँचौ तहको ३० जना स्टाफ नर्स, पाँचौ तहको दुई जना वायोमेडिकल इन्जिनियर र ७ जना पाँचौ तहको फार्मेसी सहायकको माग गरेको हो ।

पाँचौ तहको स्टाफ नर्सको लागि लिखित र अन्तर्वाता दुवै लिने सूचनामा उल्लेख छ । तर, सातौं तहको नर्सिङ अधिकृत नियुक्ति गर्नको लागि विकास समितिले आफ्नो मान्छे नियुक्ति गर्न सजिलो हुने गरी अन्र्तवार्ता मात्र लिने योजना बनाएको देखिन्छ ।

कोशीमा अहिले १० औं तहको एक जना नर्सिङ अधिकृत छन् । आठौं तहका एक जना र सातौ तहका तीन जना नर्सिङ अधिकृत कार्यरत छन् । उनीहरू लोकसेवा परीक्षा उत्तिर्ण गरेर सेवामा प्रवेश गरेका स्वास्थ्यकर्मी हुन् ।कोशी अस्पतालमा विकास समितिले पहिलो पटक सातौं तहको नर्सिङ अधिकृत नियुक्ति गर्ने तयारी गरेको हो । त्यो पनि निष्पक्ष नियुक्ति नहुने आशंका बढेको अस्पतालका स्वास्थ्यकर्मीहरूले बताए । ‘यसअघि नियुक्त भएको स्वास्थ्यकर्मीहरूलाई लिखित र अन्तरवार्ता दुवैमा उत्तिर्ण हुनुपर्ने व्यवस्था थियो तर अहिलेको सूचना हेर्दा विभेद गरिएको छ, तल्लो तहमा नियुक्त हुनेलाई लिखित र अन्तरवार्ता दुवै परीक्षा उर्तीर्ण गर्नुपर्ने मापदण्ड छ तर सातौं तहमा नियुक्त गर्नेले अन्तरवार्ता मात्र दिए पुग्ने बनाइएको छ । यो सूचना हेरेर हामी छक्क मात्र परेका छौं,’ अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले भने, ‘विकास समितिले आफ्नो मान्छे राख्नको लागि समान मापदण्ड कायम नगरेकोमा कुनै द्विविधा छैन ।’

पाँचौं तहमा दुई जना बायोमेडिकल टेक्निसियन नियुक्त गर्न पनि अन्तरवार्ता मात्र लिने तयारी देखिन्छ । सूचना प्रकाशित भएको मिति माघ ४ गतेबाट २१ दिनभित्र इच्छुकले दरखास्त दिनसक्ने अस्पतालले जनाएको छ । अधिकृत तहको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायकको लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।कोशी अस्पतालको अस्पताल विकास समिमितर्फ कर्मचारी भर्ना गर्न लागिएको हो । सुरुवातमा तीन महिने करारको लागि भर्ना गरिएका उनीहरुको करार अवधि थपिने अस्पतालले जनाएको छ ।
कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले दरबन्दी कम भएको पदमा मात्र अन्तरवार्ता राखिएको बताए । ‘संख्या बढी भएकोमा हामीले लिखित र अन्तरवार्ता राखिएको हो । नियुक्तिको प्रक्रिया लामो र झन्झटिलो हुन्छ । त्यसैले पनि कम संख्यामा हामीले अन्तरवार्ता मात्र राखिएको हो,’ उनले भने । नियुक्ति प्रक्रिया निष्पक्ष र खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट हुने उनले बताए । कर्मचारी नियुक्तिको लागि अस्पताल विकास समितिले बनाएको पदपूर्ती समितिले गर्ने उनले बताए । विकास समितिले बनाएको पदपूर्ति समितिमा बालरोग विशेषज्ञ डा. रामनारयण चौधरीको संयोजत्वमा तीन सदस्य रहेको छ । समितिको अन्य सदस्यहरूमा फिजिसियन डा. मनोज ठाकुर र दिनेश न्यौपाने रहेका छन् ।
अस्पतालले जारी गरेको सूचनामा चलानी नम्बर र पत्र संख्या पनि क्रमबद्ध नरहेको पाइएको छ ।

बायोमेडिकल इन्जिनियरको नियुक्ति पनि सुटुक्कै

कोशी अस्पताल विकास समितिले एक जना बायोमेडिकल इन्जिनियर गुपचुपमै नियुक्त गरेको खुलेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. फरवड सिलवालको इन्टे«ष्टमा खुल्ला प्रतिस्पर्धा नगरी पाँचौ तहमा गोविन्द मिश्रलाई बायोमेडिकल इन्जियिरमा नियुक्त गरेको पाइएको हो ।

अस्पताल विकास समितिको २२ पुसमा बसेको बैठकले उनलाई करारमा बायोमेडिकल इन्जिनियरमा नियुक्त गरेका थिए ।कोशी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि सिलवालले सबै नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने भन्दै आएका थिए । तर उनले सुरुवातमै गुपचुप नियुक्ति थमाउने अभ्यास गरे ।

आफू निकटकालाई नियुक्त गर्ने वा नियुक्तिमा चलखेल गर्ने उद्देश्यले उनले खुला प्रतिस्पर्धा भन्दा गुपचुपमै निर्णय गर्ने काइदा अंगालेका हुन् । सिलवालले सूचना आव्हान नगरी सुटुक्क बायामेटिकल इन्जिनियरमा मिश्रलाई नियुक्त गरेपछि त्यसो गर्नुको नियतका बारेमा कर्मचारीवृत्तमा चर्चा सुरु भएको छ । जब कि पाँचौ तहको बायोमेडिकल टेक्निसियन नियुक्त गर्न भने अहिले सूचना प्रकाशन गरिएको छ । तर, यस अघि इन्जिनियर नियुक्त गर्न विकास समितिले सूचना प्रकाशन गर्नुपर्ने महशुस गरेको थिएन ।

यता कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवड सिलवालले अस्पतालको काम कारवाहीको लागि बायोमेडिकल इन्जियिर जरुरी परेकोले काम गर्दै आएकालाई नियुक्ति गरेको स्वीकार गरे । ‘कोशीमा म आएपछि हरेक दिन सामान विग्रियो भन्दै कर्मचारीहरु आउने गरेका थिए । बाहिरबाट हायर गरेर बायोमेडिकल इन्जियर ल्याउँदा ठूलो रकम खर्च हुने गरेको थियो । त्यो रोक्नको लागि हामीले राम्रो काम गर्ने बायोमेडिकल इन्जिनियर राखेको हो,’ उनले भने, ‘हामीले गरेको नियुक्तिमा मुद्दा परेपनि हामी डिफेन्ड गर्छौं । पाँच सय शैय्यामा बिस्तार हुने अस्पतालमा बायोमेडिकल इन्जिनियर जरुरी छ । त्यसैले पनि हामीले नियुक्ति गरेका हौं ।’ खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्दा ठूलो रकमको चलखेल हुने भएकोले त्यो रोक्न पनि विज्ञापन नगरी नियुक्ति गर्नु परेको उनको भनाइ छ ।

सोमबार, ०८ माघ, २०८०, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर