विराटनगर । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा २० वाणिज्य बैंकमध्ये ४ वटाले मात्र गत वर्षभन्दा नाफा बृद्धि गरेका छन् ।
प्रकाशित विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिमा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ मात्र नाफा कमाएका छन् । समीक्षा अवधिमा बैंकहरुको नाफा ९.९४ प्रतिशत घटेको देखिएको छ ।
समीक्षा अवधिमा ४ बैंकहरुले मात्र नाफा बढाउन सफल भएका छन् । जसमध्ये हिमालयन बैंकको नाफा सर्वाधिक ५७.५३ प्रतिशत बढेको छ । त्यसैगरी, प्राइम कमर्सियल बैंकको खुद नाफा ३२.१३ प्रतिशत बढेको छ भने एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले यस आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ करोड रुपैयाँ मात्र नाफा कमाएको छ ।
पुस मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ । सो बैंकले यस अवधिसम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो ।