नेप्से १२ अंकले घट्दा दुई वर्षयताकै उच्च कारोबार

विराटनगर । लगातार दुई दिन बढेको शेयर बजार मापक नेप्से परिसूचक १२ अंकले घट्दा कारोबार रकम भने दुई वर्षयताकै उच्च भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसुचक १२.१० अंक घटेर २१६३.०६ मा बन्द भएको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेको थियो ।

आजको कारोबारमा नेप्सेले २२ विन्दु पार गरेको थियो । दिउँसो नेप्से २२१५ अंकसम्म पुगेको थियो । अन्तिममा भनेर घटेर बन्द भयो ।

नेप्से परिसुचक घटेको भएपनि कारोबार रकम भने लगातार बढ्दै गएको छ । मंगलबार ८ अर्ब २ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर १० अर्ब नजिक पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम १ अर्ब ७४ करोड रुपैयाँ बढेको छ ।

यसदिन ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो दुई वर्षयताकै उच्च कारोबार हो । यसदिन ३ सय कम्पनीको ३ करोड ३५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

यसअघि २०७८ भदौ २० गते ११ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै, सोही वर्ष भदौ २१ गते ९ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये चार वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । यस दिन चार कम्पनीको भाउ सकारात्मक सर्किट लेबलमा पुगेको छ ।
बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्यबाहेकका सबै समूह घटे । बैंकिङ ४, विकास बैंक ८, माइक्रोफाइनान्स ११ र अन्य समूह ३२ अंक बढेको छ । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै घटे । फाइनान्स समूह ३.५ र हाइड्रोपावर समूह २.८ प्रतिशत घटे ।

ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै माथिल्लो तामाकोसीको ६.९, स्वरोजगार लघुवित्तको ६.४, मोलुङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।

यस दिन तीन कम्पनीको मूल्य १० प्रतिशत घट्यो । इस्टर्न हाइड्रोपावर, भूगोल इनर्जी, मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत घट्यो ।

यस दिन ६५ करोड ८४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा ङादी ग्रुप पावर र तेस्रोमा सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।

बुधबार, ०३ माघ, २०८०, दिउँसोको ०३:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर