शेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार

विराटनगर । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक साढे २ प्रतिशत बढ्दा कारोबार रकममा उच्च बृद्धि भएको छ ।

यस दिन ३०४ स्टकको १ लाख ३३ हजार पटकको कारोबारमा ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ । यो कारोबार रकम करिब २ वर्षयताकै उच्च हो ।

२०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । त्यसपछि कारोबार रकम ८ पुगेको थिएन ।

मंगलबार नेप्से परिसूचक ५४.५४ अंक बढेर २१७५.१७ विन्दुमा पुगेको छ। नेप्से पनि करिब ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । सो दिन नेप्से २२ सय विन्दु पुगेको थियो । यसदिन सेन्सेटिभ इण्डेक्स ९.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेकोले शेयर बजारमा सकारात्मक संकेत देखिएको हो । बैंकहरुले शेयर धितोमा कर्जा प्रवाह बढाइरहेकोले बजार बढेको जानकारहरु बताउँछन् ।

यसदिन एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ८ जलविद्युत कम्पनी रहेका छन् । त्यसैगरी, यस दिन अन्य ८ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ।

बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्टक्चर र नेपाल वयर हाउजिङको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । यस्तै, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्य ९.९९ प्रतिशत र अपर तामाकोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन ६३ स्टकको मूल्य घटेको छ । जसमध्ये ज्योति विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन हिमालयन ८०–२० को इकाईमूल्य ९.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, निफ्राको २३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम २१ करोड नाघेको छ ।

यसदिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा धेरै बढेको छ भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरै बढेको छ ।

मङ्गलबार, ०२ माघ, २०८०, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर