दोस्रो त्रैमासिकको अन्तिम दिन शेयर बजारमा ३२ अंकको बृद्धि

विराटनगर । आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कारोबार दिन आइतबार नेप्से परिसूचक करिब ३२ अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार झिनो अंक घटेको नेप्से, यस दिन ३१.६२ अंक बढेर २१२०.६२ विन्दुमा पुगेको छ ।

यसदिन सेन्सेटिभ इण्डेक्स ४.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३५ प्रतिशत बढेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ९४ हजार ५२६ पटकको कारोबारमा ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

बढेको बजारमा आइतबार ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् । त्यसैगरी, अन्य ४ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत्, माथिल्लो मैलुङखोला, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ९.६, पिपुल्स पावरको ९.२ र माउन्टेन हाइड्रो नेपालको ९ प्रतिशत मूल्य बढ्यो ।

कारोबारमा आएको मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य यस दिन साढे ९ प्रतिशत घटेको छ । घट्नेमा निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ४.३१ प्रतिशत छ । लाभांस वितरण नगर्ने भएपछि निर्धन उत्थानको मूल्य घटेको हो ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३५ करोड ६८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

बजारमा रहेका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा धेरै बढेको छ भने विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ । यसदिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

आइतबार, २९ पुष, २०८०, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर