विराटनगर । मोरङका तीन उद्योगी व्यवसायीको सङ्गठनले लामो नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको विद्युत् लाइन काटेकोप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग सङ्गठन मोरङ, मोरङ ब्यापार स.घ र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विवादित डेडिकेटेड र ट्रंकलाईन विद्युत् महसुलको विषयलाई उद्योगको विद्युत काटिएकोप्रति आपत्ती जनाएका हुन् ।
उद्योग संगठनका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघका अध्यक्ष पवन सरडाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उद्योगको विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा गलत सन्देश जाने बताएका छन् । उद्योग बन्द हुँदा रोजगारी, राजश्व तथा बैङ्क व्याज भुक्तानी, बजार श्रृंखलालगायतको क्षेत्रमा प्रभाव परेको भन्दै उनीहरुले समस्याको न्यायोचित समाधानको माग गरेका छन् ।
डेडिकेटेड र ट्रंकलाईन विद्युत् महसुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगीहरूबीच रस्साकस्सी हुँदै आएको छ । आ–आफ्नो अडानका कारण पेचिलो बनेको यो विषयलाई न्यायोचित समाधान खोज्न तीन संगठनले माग गरेका हुन् । विद्युत् आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात् गर्दै हाल उद्योगहरूमा काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सुचारु गर्नुपर्ने उनीहरुको माग छ ।
त्रिपक्षीय सरोकारवालाहरु नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित विषयलाई न्यायोचित निरूपण गर्नुपर्ने धारणा उद्योगीहरुले अगाडि सारेका छन् । निजी क्षेत्रसमेतले न्याय अनुभूति गर्नेगरी तत्काल ठोस कदम चाल्न उनीहरूले सरकारको पनि ध्यानाकर्षण गराएका छन् ।