संखुवासभा । उत्तर दक्षिण कोशी सडककको अवस्था देख्दा चिन्तित भएको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले बताइन् । उत्तर दक्षिण कोशी राजमार्ग निरीक्षणका क्रममा संखुवासभा आइपुगेकी भौतिक राज्यमन्त्री चपाईले रकम हुदाँहुदैँ काम नहुनु भनेको दुखको कुरा भएको बताइन् । पत्रकारहरुसँग कुरा गर्दै राज्यमन्त्री चपाईले मन्त्रालयमा बैठक राखेर कसरी निश्र्कष निकाल्न सकिन्छ भनेर सडक विभागसँग फलफल गरिने बताएकी हुन् । ठेकेदार कम्पनीको ढिलासुस्तीले गर्दा संखुवासभाका जनतालाई सास्ती भोग्नु परेको उनले बताइन् ।
कतपिय ठाउँमा रकम अभावमा काम रोकिएको देखिन्छ तर, यहाँ भने रकम हुदाँ पनि सडक निर्माण अघि बढ्न नसक्नु दुःखको कुरा भएको राज्यमन्त्री चपाईले बताइन् । कोशी करिडोरमा जनता पीडित भएको भन्दै राज्यले चाडै निकास निकाल्ने राज्यमन्त्री चपाईको भनाइ छ । सोही क्रममा समय मध्य पहाडी लोकमार्गको काम मात्र सन्तोषजनक काम भएको बताइन् ।

भौतिक राज्यमन्त्री चपाई उत्तर दक्षिण सडक खण्डको भोटखोला गाउँपालिकाको बरुणसम्म निरिक्षण गरेर फर्किएकी छन् । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथाङ्का–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने काम सुस्त गतिमा छ । ठेक्का लागेको करिव दुई वर्ष पुग्न लाग्दा हालसम्म २२ प्रतिशत मात्रै काम भएको छ । उत्तर–दक्षिण कोशी योजनाले ट्रर्याक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो ।

एक अर्ब २८ करोडमा कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले विभिन्न बहाना बनाएर काम नगर्दा स्थानीयवासीले सास्ती खेप्नु परिरहेको छ । कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काम मात्रै गरेको छ । यो सडकखण्ड ठेकेदार कम्पनीले विसं २०८० पुस १३ सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ तर कामको गति हेर्दा यो समयमा सम्पन्न गर्न कठिन देखिन्छ ।